बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ २१ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा खाद्यान्न उत्पादन हुने उर्वर भूमिमा बस्ती विकास बढेसँगै अन्न भण्डार रित्तिँदै गएको छ । जिल्लाको सदरमुकामलगायत गाउँपालिकाको केन्द्र भएको ठाउँका खेतीयोग्य जमिनलाई टुक्रा पारी घडेरीका रूपमा बिक्री गर्ने क्रम बढ्दै गएपछि अन्न भण्डार रित्तिँदै गएको हो । खेतीयोग्य जमिनलाई बढ्दो रूपमा घडेरीका रूपमा बिक्री गर्न थालिएपछि परनिर्भरता पनि बढेको छ । स्थानीयका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित फाँटको खेतमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो तर जब त्यही जमिनमा सडक बनेर गाडी कुद्न थालेपछि यहाँको अवस्था फेरियो । अन्न फल्ने फाँट अब कङ्व्रिmटका घरले भरिन थालेका छन् ।
कमलामाई नगरपालिका–४ का किसान बलराम अधिकारी बाली झुल्नुपर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नबालीको उत्पादनमा कमी आएको र आयातित खाद्यान्नमा निर्भर रहनु परेको गुनासो गर्नुहुन्छ । “सदरमुकाम सिन्धुलीमाढीको प्राकृतिक सुन्दरताका रूपमा रहेको फाँटको खेत मासिँदै जाँदा सदरमुकामको सौन्दर्य नै गुमेको छ,” उहाँले भन्नुभयो, “दिनदिनै फाँटको खेत घडेरीका रूपमा प्लानिङ गरी बिव्रmी गर्ने व्रmम बढेको छ । यसले तत्काल जग्गाधनीलाई त राम्रै पैसा प्राप्त भई खुसी भएका होलान् तर प्रकृतिप्रेमी भने सदरमुकामको सौन्दर्य गुमेकोमा चिन्तित छन् ।”
सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार पुगेको गाउँपालिकाको केन्द्र रहेको र आसपासका जमिन पनि पछिल्लो समय घडेरीका रूपमा बिक्री भई धमाधम घर बनिरहेको गोलन्जोर गाउँपालिकाका पूर्वअध्यक्ष पुष्पबहादुर कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पालिकामा पनि नयाँ सहर योजना लागु भएको खुर्कोटमा चाहिँ उक्त समस्या देखिएको छ, अरू ठाउँमा त्यति धेरै छैन ।”
गाउँपालिकाको केन्द्र रहेको ठाउँ पछिल्लो समय सहरमा परिणत हुन लागेको उहाँको भनाइ छ । स्थानीयका अनुसार जिल्ला सदरमुकामस्थित फाँटको खेतमा अहिले तीव्र सहरीकरण भइरहेको छ । अघिल्लो पुस्ताले खेती गरेको जमिनमा अहिले पछिल्लो पुस्ताले प्लानिङ गरी घडेरीका रूपमा बिक्री गरी सुविधा खोज्दै सहर पलायन हुने व्रmम बढेको छ । पछिल्लो समयमा खेत धनी अन्य पेसामा लागेका र कृषि कार्य खर्चिलो बन्दै गएपछि पनि खेत घडेरीका रूपमा मासिने क्रम बढेको बताइएको छ ।
“एक दशकअघिसम्म ढुङ्ग्रेबास कटेपछि घर भेट्न कि त धुरा बजार नै पुग्नु पथ्र्याे कि त बजार नै, अहिले ढुङ्ग्रेबास पुच्छारको ग्वाङखोला कट्नेबित्तिकै अनगिन्ती घर भेट्न पाइन्छ । घर पनि धमाधम बन्दै छन्,” ढुङ्ग्रेबास बजार निवासी सन्तोष दाहाल भन्नुहुन्छ ।
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत नागरिकले पाउने आधारभूत सुविधा धमाधम बढ्दै गएपछि ठुला सहर ताक्ने मानिसको रोजाइमा गाउँघर नै पर्न थालेको उहाँको बुझाइ छ । फाँटमा घर बनाएर बसोबास गर्ने क्रम बढेपछि कमलामाई नगरपालिकालाई सडक, खानेपानी, बिजुली, विद्यालय, ढल निकासलगायतका व्यवस्थापन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका वातावरण शाखाका प्रमुख सागरकुमार ढकाल फाँटमा तीव्र रूपमा बनेको कङ्व्रिmट घरले नगरको सौन्दर्य नै गुमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उर्वर जमिनलाई कङ्व्रिmटमा परिणत गरेको, अव्यवस्थित तरिकाले घर बनिरहेको र सरसफाइको व्यवस्थापन गर्न एकदमै समस्या भएको छ ।”