• १० मंसिर २०८१, सोमबार

किनो फेस्टिभलमा ‘द स्कुल वाल’ र ‘पाउलो’

blog

काठमाडौँ, जेठ २१ गते । लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ मा श्लोक साह मुख्य भूमिकामा हुनुहुन्छ । अन्य कलाकारमा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतमलगायत हुनुहुन्छ । 

चलचित्रमा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । काम गर्ने ठाउँको अघिबाट विद्यार्थी विद्यालय गइरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाए अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुसी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरका लागि के केसम्म गर्न सक्छ भन्ने विषयवस्तुलाई चलचित्रमा देखाउन खोजिएको छ । 

सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दङ्गाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाको अभिनय रहेको छ । ‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो । सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान् वा श्रीमतीको मृत्यु भयो । उसले अर्को विवाह गरेको घटना समाजमा पाइन्छ, यस्तै मानिसको कथालाई विम्बका रूपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । जुत्ता एउटा सामग्री मात्र हैन, मानवीय अनुभूति पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ‘पाउलो’ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्रान्डेड जुत्ता तथा चप्पलको उत्पादन तथा वितरण गर्दै आएको छ । चलचित्रको दृश्य नारायण जिसीले खिच्नुभएको हो । सम्पादन तथा रङ संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आटर्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुल वाल’ र ‘पाउलो’ को लेखन तथा निर्देशन मोहन अभिलाषीले गर्नुभएको छ ।