• १२ मंसिर २०८१, बुधबार

सूर्योदयका सबै वडा जोड्दै ‘अलवेदर’ सडक

blog

सूर्योदय नगरपालिकामा कालोपत्रेका लागि स्तरोन्नति हुँदै गरेको ग्रामीण सडक । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, जेठ २० गते । देशमा संघीयता कार्यान्वयनसँगै गठन भएको स्थानीय सरकारले थालेका कामको थोरै भएपनि परिणाम आउन थालेको छ । इलामको सूर्योदय नगरपालिकाले आफ्ना सबै वडालाई ‘अलवेदर’ अर्थात् बाह्मासे सडकले जोड्ने लक्ष्यले काम अघि बढाएपछि पछिल्लो समय थोरै भएपनि त्यसको परिणाम देखिन थालेको हो । 

अघिल्लो पटकको स्थानीय सरकारलेनै नगरका १४ वटै वडामा ‘एक वडा-एक सडक’ को नीति लिएर थालेको कम्तिमा तीन किलोमिटर कालोपत्रे सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, वाल र केही ठाउँमा कालोपत्रेको काम समेत भइरहेको छ ।

गत आर्थिक वर्ष ०७९-०८० मा ११ दशमलव आठ किलो मिटर कालोपत्रे सडक सम्पन्न भइसकेकोमा चालु आर्थिक वर्ष ०८०-०८१ को अन्त्य सम्ममा १८ किलोमिटर कालोपत्रेको काम भइसक्ने सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिले सम्ममा एक सय १२ दशमलव ५६ ग्राभेल सडक निर्माण भएको र चालु आर्थिक वर्षको अन्त सम्ममा १३० किलोमिटर ग्राभेल सम्पन्न हुने संयोजक शर्माले जानकारी दिनुभयो । 

प्रदेश सरकार र संघीय सरकारको समपुरक अनुदान र साझेदारीमा एक वडा एक कालोपत्रेको काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा सडकको नयाँ ट्याक खोल्ने कार्य भने पूर्ण बन्द गरिएको छ । "हामीले समृद्ध नगरपालिका निर्माणका लागि ल्याएको अलवेदरको कार्यक्रम अहिले नगरपालिकाको मेडेल योजनाका रुपमा अघि बढिरहेको छ," सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले भन्नुभयो, "नगरपालिकाको गौरवको आयोजना भएकाले अलवेदरका लागि सबैवडाहरु लागि परेकाछन् ।" 

२८ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बाह्मासे सडक निर्माण सम्पन्न हुँदा सूर्योदयले साँच्चै एउटा स्वरुप लिने नगरप्रमुख राई बताउनुहुन्छ । "नगरपालिकाभित्र कूल ५५५ सडकमध्ये ती सडकलाई छानेर २५५ मा झारियो, त्यसमध्ये पनि आवश्यक र मुख्य सडक छानेर काम थालेको करिब पाँच वर्ष बिति सकेको छ," राईले भन्नुभयो, "यहाँका सबै वडा कार्यालय पुग्न अलवेदर पुरा भएका छन् । अब गुरुयोजना अनुसार कालोपत्रेको काम थपिरहेका छौं ।" 

बाह्मासे सडकका लागि प्रत्येक वडाले वर्षेनी कम्तिमा ५० लाख रुपियाँ बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकता अनुसार वडाहरुले एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको राईले बताउनुभयो । 

"कृषि जन्य उत्पादन गाउँमा छ, त्यसलाई बजार सम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नास हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ," नगरप्रमुख राईले भन्नुभयो, "यातायात र ढुवानीको अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रुपमा बजार सम्म पु¥याउन सक्ने भएका छन् । यसमा हामीलाई गौरव छ ।"

वर्षायाम सुरु भएपछि विगत वर्षहरुमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेडा, इस्कुस, अकबरे, काँक्रा, बन्दालगायतका कृषि उत्पादन बारीमै कुहिने गरेको थियो ।