• ४ माघ २०८१, शुक्रबार

‘दुग्ध उत्पादन बढाउने गरी नीति निर्माण गर्नुपर्छ’

blog

कार्यक्रममा उपस्थित अतिथिहरु ।

धर्बेन्द्र झा

जनकपुरधाम, जेठ १९ गते  । मधेश प्रदेशमा व्यापक मात्रामा पशुपालन गरिए पनि दुग्ध उत्पादन कम भएकाले दुग्ध उत्पादन बढाउने किसिमले राज्यले नीति निर्माण गर्नु पर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । 

विश्व दुग्ध दिवसको आसवरमा मधेश प्रदेश दुग्ध विकास बोर्डले शनिबार जनकपुरधाममा गरेको कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिनुभएको हो ।  वक्ताहरूले पशुपालन व्यवसाय गर्दा दुग्ध उत्पादन बढाउने गरी अघि बढ्न मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग आग्रह गर्नुभयो ।  

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणमा प्रदेश सरकार अघि बढेको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि दुग्ध अति आवश्यक भएकाले दुग्धको उत्पादन बढाउने गरी मन्त्रालयले दुग्ध विकास बोर्ड गठन गरेको जानकारी दिनुभयो ।  

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगलकिशोर तिवारीले दुग्ध उत्पादनले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउने गरेको भन्दै गाउँमा उत्पादन भएको दुग्ध सहरमा आउने र सहरको रकम गाउँमा पुग्ने किसिमको वातावरण निर्माण हुनु पर्नेमा जोड दिनुभयो । 


मधेश प्रदेशका दुग्ध विकास बोर्डका निर्देशक शङ्कर साहले मधेश प्रदेशमा मागभन्दा कम दुग्ध उत्पादन रहेको भन्दै दुग्ध उत्पादन बढाएर किसानको आर्थिक अवस्था मजबुत बनाउन जरुरी रहेको बताउनुभयो । मधेश प्रदेशमा १२ लाख मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जानकारी गराउनुभयो । 

औसत रूपमा नेपालमा प्रतिव्यक्ति ८५ लिटर दुग्ध खपत भए पनि मधेश प्रदेशमा प्रतिव्यक्ति ७१ लिटर खपत मात्र रहेको दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले जानकारी दिनुभयो । 

कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा. सरोजकुमार चौधरी, दुग्ध विकास संस्थान जनकपुर वितरण आयोजनाका प्रमुख दिनेश जोशीसहितले धारणा राख्नुभयो ।