• १३ साउन २०८१, आइतबार

परामर्श गरेर ल्याएको भए राम्रो बजेट आउँथ्यो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली। तस्विरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ । 

नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । “कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला” अध्यक्ष ओलीले निर्देशन दिनुभयो । सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श गरी ल्याइएको बजेट भए राम्रो बजेट आउँथ्यो होला, तर सरकारले त्यसो गरेन उहाँले भन्नुभयो । 


बजेटले महत्त्वपूर्ण विषय समेटेको तर केही महत्त्वपूर्ण विषय समेट्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो । बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो । छलफलमा प्रश्न उठाउन सकिन्छ तर पारित गर्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो । बजेटमाथिको छलफलमा विषय उठाउँदा सांसदबिच समन्वय गरेर गर्न उहाँले निर्देशन दिनुभयो ।


नयाँ संविधानले मुलुकलाई समाजवाद उन्मुख बनाउने व्यवस्था गरे पनि बजेटमा त्यसबारे स्पष्ट योजना नआएको उहाँको भनाइ छ । सत्तापक्षसँग छलफल गरेर बजेट ल्याउनुपर्ने तर त्यसो हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि बजेट पर्याप्त नभए पनि केही महत्त्वपूर्ण विषय भने समेटिएको उहाँको भनाइ छ ।