• १३ मंसिर २०८१, बिहिबार

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

blog

तस्बिर:रासस

डुम्रे (तनहुँ), जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिमको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रुत गतिमा गराइने सांसद वाग्लेले बताउनुभयो । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मी सांसद वाग्लेलाई जानकारी गराएका थिए । 

सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रुत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ ।” विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रूपमा सम्बोधन गरेको उहाँको दाबी छ । अहिलेको मुख्य एजेण्डा विपद् व्यवस्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले आगलागी र हावाहुरीले पुर्‍याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दमौली अस्पताललाई दुई वटा डायलिसिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले सङ्घीय संसदबाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने उल्लेख गर्नुभयो । पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न तीन करोडको अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

सांसद वाग्लेद्वारा आगलागी र हावाहुरी पीडितसँग भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डा.वाग्लेले आगलागी र हावाहुरी पीडितसँग भेट गर्नुभएको छ । सो अवसरमा उहाँले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिनुभएको थियो । डा.वाग्लेले व्यास नगरपालिका-३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुगमन गर्नुभयो । 

उहाँले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ-आफ्नो क्षेत्रबाट आगलागी पीडितलाई राहतको महसुस गराउन सक्नुपर्छ ।” उक्त दिन भएको आगलागीबाट २३ सटर र २१ वटा पसलमा क्षति भएको थियो । आगलागीपछि २१ जनाको रोजगारी गुमेको इमेज मोबाइल सेन्टरका प्रोप्राइटर केयरसिंह आले बादलले जानकारी दिनुभयो । 

उहाँले उक्त सटरहरू तत्काल सञ्चालन हुनुपर्ने माग राख्नुभयो । जिल्ला समन्वय समितिको भाडामा लगाउँदै आएको सटरमा आगलागी भएको थियो । डा.वाग्लेलाई जेठ १७ गते अपराह्न आएको हावाहुरी र पानीले तीन सय ३० घर, गोठ र विद्यालयमा पुर्‍याएको क्षतिको बारेमा जानकारी गराइएको थियो । सो हावाहुरीबाट तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालयमा क्षति भएको थियो । रासस