निशा राई
धरान, जेठ १९ गते । जुडो कुरासकी दीपिका अचार्ज र टेबल टेनिसका खेलाडी सिद्धार्थ तामाङलाई धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी अवार्ड २०८० द्वारा सम्मान गरिएको छ ।
धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड २०८० बाट सम्मान गरिएको हो ।
उहाँहरूलाई जनही नगद रकम २५ हजार र अवार्ड प्रदान गरिएको हो । यसैगरी, मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड फुटबल खेलाडी सुमन सेतेङ्बा लिम्बुलाई प्रदान गरेको छ । उहाँलाई नगद रकम ११ हजार र अवार्ड गरिएको छ ।
यसैगरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिएको छ ।
उहाँहरूलाई धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, नेपाली कांग्रेसका नगर अध्यक्ष श्याम पोख्रेल, नेकपा (एकीकृत समाज)का धरान नगर अध्यक्ष रेवतिरमण राई लगायतले नगद रकम र अवार्डले सम्मान गर्नुभएको थियो ।
धरानमा सबै विधाका खेलकुदको विकासका लागि खेलकुद सङ्घ सङ्गठनहरूको प्रतिनिधित्व गर्दै छाता संस्थाको रूपमा वि.सं.२०६७ सालमा खेलकुद मञ्च गठन भएको हो । धरानलाई खेलकुद सहरको रूपमा चिनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गरेको आयोजक मञ्चका अध्यक्ष राईले बताउनुभयो ।
यो कार्यक्रम वर्षैपिच्छे हुने समेत उहाँले बताउनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरूलाई एक्स्पोजर गर्नुपर्छ भन्ने उद्देश्यले अवार्ड दिएको अध्यक्ष राईले बताउनुभयो ।
छनोट समितिका सचिव सुधीर सीँ लिम्बुका अनुसार विभिन्न १० खेल विधामा १४ जनाको नाम थियो । छनौट समितिले वर्ष खेलाडी पुरुषतर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम लिम्बु मनोनयन गरेको थियो भने महिलातर्फ जुडोक्रसकी दीपिका आचार्य र बक्सिङकी जुनु र प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा तामाङ मनोनयनमा परेको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न खेलकुद विधाका खेलाडीहरू लगायत विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो ।