यदुप्रसाद भट्ट
मनाङ, जेठ १९ गते । सामान्यतया असार मसान्तअगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने हुन्छ । यसै बाध्यतालाई ध्यान राख्दै बजेट सक्न काममा आलटाल गर्ने प्रवृत्ति मनाङमा कायमै छ । वर्षाको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले पनि यो प्रमाणित गर्दछ ।
पर्यटकीय स्थलका रूपमा रहेको मनाङका विभिन्न स्थानमा पक्की सडक तथा पक्की पुलको अभाव भइरहेकै बेला फेरि चार वटा काठेपुलले निरन्तरता पाइरहेको छ । चामे गाउँपालिका–१, तिमाङस्थित तिमाङखोलामा, चामे गाउँपालिका–२ स्थित स्यार्कुखोलामा र चामे गाउँपालिका–४ स्थित दुई वटा घट्टेखोलामा काठेपुल निर्माण भइरहेका छन् ।
सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका यी चार स्थानमा कच्ची काठेपुल निर्माण भएका हुन् । दीर्घकालीन पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा जोखिम बढ्ने स्थानीय बताउँछन् । जिल्लाको मुटु मानिएको चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा चार वटा काठेपुल निर्माण सम्पन्न गरी सञ्चालन गरिएको हो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काठेपुल निर्माण आफ्नो रहर नभई बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा लाग्न थालिसक्यो, आवतजावत त रोक्नुभएन । पक्की पुलको आसमा बस्दाबस्दै जनता निराश हुन थाले । त्यसैले अन्य ठाउँमा उपयोग हुने बजेटबाट छुट्याएर काठेपुल बनाउन बाध्य छौँ ।” उहाँले एउटा काठेपुल निर्माण गर्दा घटीमा पाँचदेखि बढीमा सात लाख रुपियाँसम्म खर्च हुने गरेको जानकारी दिनुभयो ।
जिल्लाको मुख्य सडकमा मात्र नौवटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका विभिन्न स्थान तिलिचो ताल, थोराङ्ला भन्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरूको भनाइ छ । पर्यटकीय क्षेत्र मनाङको मेरुदण्डका रूपमा रहेको सडकमा काठेपुल मात्र हुँदा स्थानीय तथा सवारीसाधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।
मनाङमा पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि सम्झौता भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिपिआरका लागि सम्झौता मात्रै भएको हो, बजेट अभाव यथावतै छ ।” अधिकारीले यस सडकखण्ड अन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी निर्माण थालिने बताउनुभयो ।
उता प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणको विषयमा छलफल भइरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रमै पुलको अभाव हुँदा हुने जोखिमलाई ध्यानमा राख्दै पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सधैँ काठेपुल सञ्चालन गर्न सम्भव छैन, हामीले सडक आयोजना कार्यालयसँग बोलाएर छलफल ग¥यौँ तर काम भएको देखिएन । भएका काठेपुल पनि जीर्ण हुँदै गएका छन्, केही ठाउँमा त तिनै काठेपुलले धान्न नसक्ने भएपछि खोलाबाटै तर्नुपर्ने अवस्था आएको छ ।” उहाँले पक्की पुल नहुँदा काठेपुलको यात्रा जोखिमपूर्ण बन्दै गएकाले सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।