मनाङ, जेठ १९ गते । मनाङमा यार्चागुम्बा टिप्ने क्रममा भीरबाट लडेर एक युवक घाइते भएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–६, तर्केनी लेकमा यार्चागुम्बा खोज्ने क्रममा अचानक लडेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२, पोखरीका शेरबहादुर गुरुङ घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर भीरबाट खसेपछि मनाङ स्वास्थ्य चौकी ल्याइएको थियो । उहाँको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, नासोँ गाउँपालिका–८, घुजुङेखर्कमा एक गोठालाको मृत्यु भएको छ । ढिला गरी प्राप्त जानकारीअनुसार जेठ १३ गते ताचैका लीलाबहादुर गुरुङको चौंरीगोठमा बस्ने धादिङको गंगाजमुना गाउँपालिका–१ रि गाउँका ४७ वर्षीय लोप्सन लामाको भीरबाट लडेर मृत्यु भएको छ ।
चौंरी चराउने क्रममा भीरबाट खसेर मृत्यु भएका उहाँलाई प्रहरी र स्थानीयले भौगोलिक विकटताका कारण जेठ १५ गते मात्रै चामेस्थित जिल्ला अस्पतालमा ल्याएका थिए । पोस्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।