• १४ मंसिर २०८१, शुक्रबार

बागमतीमा प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल सकियो

blog

शुक्रबार बसेको बागमती प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्य ।

राममणि दाहाल

हेटौँडा, जेठ १८ गते। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलमा सत्ता पक्षका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमको समर्थन र विपक्षी दलका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमले नागरिकको समस्या सम्बोधन गर्न नसेको बताएका थिए।

सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार भएको छलफलमा प्रदेश सभाका सदस्यले विगतमा जस्तै यो नीति तथा कार्यक्रम पनि कार्यान्वयन आउनेप्रति आशङ्का व्यक्त गरेका थिए ।

प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बजेट बाढ्ने भन्दा ठोस रुपमा देखिने गरी कार्यक्रम आउनुपर्ने बताउनुभयो।प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले हचुवाको भरमा सरकार चलाउने होइन नागरिकको आवश्यकताका आधारमा चलाउनुपर्ने बताउनुभयो।उहाँले कार्यकर्ता भरेर राज्य व्यवस्था सञ्चालन गर्ने कुरा गलत भएको बताउनुभयो।

प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गरेर सुझावलाई डष्टविनमा हाल्ने काम भएको बताउनुभयो।प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले प्रदेशको अधिकारका लागि साझा सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रदेश सभा रत्नप्रसाद ढकालले प्रदेशको समृद्धिको बारेमा कोही पनि विपक्षीमा नरहेको बताउनुभयो।यसैगरी प्रदेश सभा सदस्य मधुसूदन पौडेलले नागरिकका अपेक्षा पूरा गर्न हिजोसँगै आन्दोलनमा लागेका दलहरु मिलेर जानु आवश्यक भएको बताउनुभयो।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, मीनकृष्ण महर्जन, सुना परियार, मीना पराजुली, विमल ठकुरी, हरिप्रभा खड्कीलगायतले आफ्नो धारणा राख्नुभएको थियो। 

शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक २ बजेमात्र सुरु भएको थियो।