कमल खत्री
नेपालगन्ज, जेठ १८ गते । बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा बाँके जिल्लाका ७ क्लबको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता हुन लागेको हो । नेपालगन्जमा सहभागी क्लब प्रतिनिधिहरूको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको छ ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले खेल्ने भएको धेरै नयाँ युवा खेलाडीले अवसर पाउने बताउनुभयो ।
जेठ २३ गतेसम्म चल्ने प्रतियोगिताको च्याम्पियन टिमले बाँके जिल्ला फुटबल सङ्घले आयोजना गर्ने आगामी वर्षको लिग फुटबल खेल्ने अवसर पाउनेछ । कोहलपुर १३ बिघामा हुने प्रतियोगिताको उद्घाटन खेलमा इजोन स्पोर्ट्स क्लब र नेपालगन्ज–११ स्पोटिङ क्लबबिच हुने भएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका ७ क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगन्ज-११ स्पोटिङ क्लब, सिटी यूथ क्लब, ई जोन स्पोट्रस क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।