• १३ मंसिर २०८१, बिहिबार

सिद्धार्थ राजमार्गको स्तरोन्नति हुने आशा

blog

फाइल तस्बिर ।

वालिङ समाचारदाता 

वालिङ, जेठ १८ गते ।  जीर्ण अवस्थाको सिद्धार्थ राजमार्ग स्तरोन्नतिको पर्खाइमा छ । सुनौलीदेखि पोखरासम्म १८० किलोमिटर सडकमध्ये पहाडी क्षेत्रको सडक बिग्रिएको अवस्थामा छ । दलको चुनावी एजेन्डा बन्दै आएको यो राजमार्ग अब भने बन्छ कि भन्ने आशा पलाएको छ । 

वालिङ–१० का राजु खनाल भन्नुहुन्छ, “आगामी वर्षको बजेटमा राजमार्गको विषय उल्लेख भएको छ, अब भने पक्कै स्तरोन्नति हुन्छ होला ।” कार्यक्रममा यसअघि पनि पर्ने गरेको तर आवश्यक बजेट नआउने गरेको भन्दै खनालले महत्वपूर्ण सडकलाई राज्यले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो । 

आगामी आर्थिक वर्षको बजेटमा बुटवल पोखरा खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको बजेटमा राजमार्गको विषय उल्लेख भएको हो । राजमार्ग जीर्ण हुँदा स्याङ्जाका नागरिक निकै समस्यामा पर्दै आएका छन् । छोटो यात्रा पनि घण्टौँ लाग्ने गरेको छ । नमिलेका घुम्ती र साँघुरो बाटोका कारण निरन्तर दुर्घटना हुने गरेको छ । राजमार्गको स्तरोन्नति गर्न स्याङ्जा क्षेत्र नं. १ का सङ्घीय सांसद राजु थापा, २ का सांसद धनराज गुरुङ, पूर्वसांसद गोपालमान श्रेष्ठ, पद्माकुमारी अर्याललगायतले संसद्मा कुरा उठाउँदै आउनुभएको थियो । 

वालिङका पूर्वनगरप्रमुख दिलीपप्रताप खाण सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प नरहेको बताउनुहुन्छ । आफ्नो कार्यकालमा पालिकाभित्रको घुम्टी कटान गरेको भन्दै खाणले वालिङ क्षेत्रको सडक फराकिलो भएको बताउनुभयो । फराकिलो भएको सडक तत्कालै कालोपत्रे गर्नुपर्नेमा उहाँको जोड छ ।