• २ साउन २०८१, बुधबार

श्रमसँग जोडिने शिक्षा

blog

विगत केही वर्षदेखि युवा विद्यार्थी पढ्ने, कमाउने र विभिन्न पेसा तथा रोजगारका लागि विदेशिने क्रम बढ्दो छ । त्यसो त धेरै पहिलेदेखि नै नेपाली कामको खोजीमा भारतलगायत केही अन्य देशमा जाने परम्परा थियो । सो क्रम झिनो वा सानो थियो भने अहिले बढ्दो क्रममा छ । लाहुरे हुने रहर र घरायसी बाध्यताले पनि कामको खोजीमा मुग्लान पस्ने गरेको पाइन्थ्यो । पछाडिका वर्षमा भारतबाहेक मलेसिया, खाडी मुलुक, साउदी अरब, कतार, दुबई, अरब इमिरेट्स, पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश आदि र केही विकसित मुलुक अमेरिका, बेलायत, सिङ्गापुर, हङकङ, जर्मनी, इटाली, जापान र विभिन्न युरोपियन मुलुकमा जाने क्रम बढेको छ ।

छिमेकीका छोराछोरी निजी तथा बोर्डिङमा पढेको देखेर, ऋण काढेर र सहर पसेर पनि छोराछोरी बोर्डिङ स्कुलमा पढाउने थालनी विगत दुई दशकदेखि क्रमशः बढेको देखिन्छ । एसइई वा स्कुल शिक्षापछि उच्च शिक्षाका नाममा सहर बजार पढ्न जाने, पठाउने क्रम बढ्दो छ । अहिले प्लसटुका लागि वा सो भन्दा उच्च शिक्षाका लागि भनेर सहर बजार पढ्न जाने, पठाउने क्रम बढ्दो छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको छ । शिक्षा र युवा तथा खेलकुदका क्षेत्रमा विजियोजित बजेटबाटै युवालाई स्वदेशमै राख्ने कार्यक्रम बनाई देश विकास गर्न युवा उत्थान कार्यक्रम घोषणा गर्नु पर्छ । खास गरी शिक्षासँग विमुख गरिएका कार्यक्रमका खर्चमा समस्या आउने र कार्यक्रम फलदायी नहुने भएकाले श्रममुखी शिक्षासँग आबद्ध गर्न शिक्षालयलाई अनिवार्य रूपमा जोड्नु राम्रो हुन्छ । सो आधारमा केही पहिचान गर्न लायक केही अवधारणागत क्षेत्र यहाँ उल्लेख गरिएको छ । 

  • कृषक उत्थान कार्यक्रम : कृषि शिक्षामा आबद्ध विद्यार्थी ।
  • स्थानीय विद्यालयमा शिक्षण प्रवोधिकरण कार्यक्रम : शिक्षामा आबद्ध र पठनपाठनमा रुचि राख्ने विद्यार्थी ।
  • स्थानीय विकास, शान्तिसुरक्षा, राजनीतिक चेतना अभिवृद्धि, सुशासन तथा जनाधिकार प्रशिक्षण कार्यक्रम : व्यवस्थापन, तथा वाणिज्य, कानुन, मानविकी तथा सामाजिक क्षेत्रमा आबद्ध विद्यार्थी ।
  • जनस्वास्थ्य तथा सडक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम : चिकित्साशास्त्र/स्वास्थ्य शिक्षा र जनस्वास्थ्यमा आबद्ध विद्यार्थी ।
  • निर्माण तथा स्तरोन्नति, सञ्चार प्रविधि तथा पर्यटन कार्यक्रम : इन्जिनियरिङ तथा सञ्चार र सूचना शिक्षामा आबद्ध विद्यार्थी ।
  • प्राकृतिक सम्पदा प्रवर्धन कार्यक्रम : विज्ञान तथा प्रविधि र वन विज्ञानमा आबद्ध विद्यार्थी ।

उपरोक्त वा आवश्यकता अनुसार चयन गरिएका क्षेत्रमा सहयोग र समन्वयका लागि सहयोगी निकायका रूपमा विश्वविद्यालय/प्रतिष्ठान, सम्बन्धित डिन कार्यालय, सम्बन्धित क्याम्पस, राज्य संयन्त्र (स्थानीय निकाय/प्रदेश), विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न निजी क्षेत्रलाई समेट्न सकिन्छ । 

राज्यको सहयोगमा कमाउँदै–पढ्दै कार्यक्रम देशका सातै प्रदेश र सो अन्तर्गतका स्थानीय निकायमा रहेका उच्च शिक्षालयले काममा आधारित शिक्षाका रूपमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई संलग्न गराइने गरी व्यवस्था गर्न सकिन्छ ।

कमाउँदै–पढ्दै कार्यक्रमबाट विद्यार्थीलाई आत्मसम्मान हुनुका साथै आर्थिक राहत एवं काममा खट्ने बानीको विकास हुने छ । अभिभावकलाई पनि छोराछोरीले केही गरिखाने सिपमूलक शिक्षा सिक्दै छ वा सिक्छ भन्ने विश्वास लाग्ने छ । अभिभावक र विद्यार्थीलाई कमाउन विदेशै जानु पर्छ भन्ने भ्रम हट्नुका साथै स्वदेशमै गरिखाने काममा जोडिने प्रवृत्तिको विकास हुन्छ । कमाउँदै–पढ्दै कार्यक्रमले भविष्यका लागि युवाको शैक्षिक र आर्थिक उन्नतिलाई गति दिन्छ । वयस्कलाई आफ्नो घरको अर्थ व्यवस्थाको व्यवस्थापन गर्न पनि यस प्रकारका कार्यक्रमबाट राहत पुग्ने छ । 

भविष्यका कर्णधार विद्यार्थीलाई श्रमयुक्त शिक्षामा जोड्न कमाउँदै–पढ्दै कार्यक्रममार्फत नेतृत्वदायी भूमिकामा ल्याउन सकिन्छ । भोलिका कर्णधारलाई पनि देशमै केही गर्न सकिने रहेछ भन्ने आभास दिलाउन सकिने छ । 

हामी नेपाललाई कृषिप्रधान देश भन्ने गर्छौं । पेसामा प्रायः हामीले कृषि लेख्छौँ पनि तर तदनुकूलको काम हुन सकेको छैन । मुलुकभर अधिकांश खेतीयोग्य जमिन बाँझै छन् । यसको उपयोग गर्न राज्यले विशेष कार्यक्रम ल्याउन सक्छ । यहाँ विद्यार्थीलाई सिपमूलक शिक्षासँग जोड्ने कुरा भइरहेको छ । हाम्रा विद्यालय, विश्वविद्यालयसँग पनि प्रशस्त जमिन छ, उक्त जमिन भाडामा दिएर पनि त्यसको उपयोग गर्न सकिन्छ । कृषि तथा बागवानी, पुष्प खेती, पशुपालन, भेटेरिनरी, मौरीपालन, चराचुरुङ्गी (पन्छी) र हाम्रो स्नातक तथा स्नातकोत्तर पाठ्यक्रमले निर्दिष्ट गरेका विविध उत्पादनमुखी शिक्षा प्रदायक पठनपाठनको व्यवस्था छ । उक्त विषयवस्तुको पठनपाठन भइरहेका क्षेत्रमा रहेका विद्यालय, क्याम्पसहरूले आफ्नै जग्गा भाडामा दिएर हिउँदे, बर्खे तथा बेमौसमी तरकारी तथा फलफूल खेती गर्न सक्छन् । भाडामा लिने कृषक र यसबारे जान्न चाहने अन्य कृषकलाई बिउबिजन छनोट, सिँचाइ तथा कुलो, नहर, मलखादको मात्रा निर्धारण, कीटनाशक विषादीको प्रयोग र प्रभाव, नर्सरी निर्माण, गोठ, खोर आदि बनाउँदा आवश्यक पर्ने पर्यावरणबारे जानकारी गराउन सकिन्छ । घामपानीको उपलब्धतालगायत विभिन्न वैज्ञानिक सल्लाह, ज्ञान, सिप र प्रेरणा दिन सकिन्छ । सोबापत तत् क्षेत्रका कृषि उद्यमी, व्यवसायीलाई सहज रूपमा हाम्रा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी भाइबहिनी तथा छोराछोरीलाई सिप र ज्ञानका लागि प्रत्यक्ष रूपमा फिल्डमै पठाउन सकिन्छ । त्यसबाट प्रयोगात्मक अभ्यास मात्रै नभई किसानलाई पनि सहयोग पुग्ने छ । यस्तो अभ्यासले पढाइलाई आयआर्जनसँग जोड्ने छ । 

शिक्षण तथा शिक्षा अध्ययन गरिरहेका वा सो खेत्रमा रुचि राख्ने स्नातक तथा स्नातकोत्तर विद्यार्थीले क्याम्पस र विद्यालयको आपसी समन्वयमा नयाँ शिक्षणतर्फ लाग्दै गरेका नयाँ शिक्षकलाई तालिम दिन, शिक्षण विधि र शिक्षण सामग्री निर्माण गर्ने सिपको ज्ञान दिन र शिक्षक अभाव भएका ठाउँमा गएर पढाउने काम गरी सहयोग गर्न सक्छन् । क्याम्पसले अभ्यास शिक्षणमा विद्यार्थीलाई विद्यालयमा पठनपाठन गर्न पठाइ शिक्षकको अभाव पूरा गर्न सक्छन् । यसरी सिकारुको रूपमा जाने शिक्षकले आफूले सिक्ने क्रममा सहुलियत दरमा पनि पठनपाठन गर्ने भएकाले यसबाट विद्यालय तथा सिकारु दुवैलाई फाइदा पुग्ने छ । यसबाट सो विद्यार्थीमा कामको लगाव बस्छ । यसरी विविध क्षेत्रका लागि कार्ययोजना बनाउँदै पालैपालो विद्यार्थीलाई कर्म क्षेत्रमा खटाई कामप्रति प्रेरणा जगाई विद्यार्थीले सिकेको ज्ञानसँग श्रमलाई जोड्न सकिन्छ । 

व्यवस्थापन विषय अध्ययन गरिरहेका स्नातक तथा स्नातकोत्तर विद्यार्थीले क्याम्पस/विद्यालय र जनशक्ति चाहिने निकायको आपसी समन्वयमा कार्यालय व्यवस्थापन, लेखा प्रणालीमा सहयोग गर्न नयाँ व्यवस्थापकलाई तालिम दिन, कार्यालय सञ्चालन विधि र कार्यालयमा जरुरी अन्तरिक नेटवर्किङ तथा सामग्री निर्माण गर्ने सिपको ज्ञान दिन र कार्यालयमा आवश्यक जनशक्तिको रूपमा रहेर सहयोग गर्न सक्छन् ।

इन्जिनियरिङ अध्ययन गरिरहेका स्नातक तथा स्नातकोत्तर विद्यार्थीले क्याम्पसमा चाहिने विकास निर्माण तथा संरचना निर्माण गर्न र अन्य निकायमा क्याम्पसले समन्वय गरी आधारभूत सिपको ज्ञान दिन र विकास निर्माणमा सहयोग गर्न सक्छन् । जस्तै भवन निर्माणका लागि माटो परीक्षण, मापदण्ड निर्धारण, गुणस्तर निर्धारण, कारखानामा लेथलगायतका मसिन सञ्चालन, औजार निर्माण, सामान्य बिजुली जडान, सर्किट निर्माण, सर्वे गर्न, कम्युटरको सामान्य ज्ञान तथा जानकारी दिन सक्छन् । एप तथा सफ्टवेयर निर्माण र स्कुल तहमा प्रशिक्षण दिने आदि काममा सहयोग गर्न सक्छन् ।

मानविकी तथा समाज शास्त्र र कानुन विषय अध्ययन गरिरहेका स्नातक तथा स्नातकोत्तर विद्यार्थीले क्याम्पसमा चाहिने कानुनी, प्रशासनिक तथा अनुशासन, सेवाग्राहीसँग गरिने सामाजिक व्यवहार, आपसी समन्वय र सद्भाव सम्बन्धमा सुसूचित गर्न र समाजमा मेलमिलाप गरी समाज सुधारका विषय ज्ञान दिन सक्छन् । विद्यालय तहमा सामाजिक तथा नैनिक विषय पठनपाठन गरी सहयोग गर्न सक्छन् ।

स्वास्थ्य तथा शारीरिक र चिकित्साशास्त्र अध्ययन गरिरहेका स्नातक तथा स्नातकोत्तरका विद्यार्थीले क्याम्पसमा चाहिने प्राथमिक उपचार गर्न, स्वास्थ्यसम्बन्धी अनुशासनको ज्ञानमूलक जनचेतना कार्यक्रम सञ्चालन गर्न, घर तथा सहर बजार र स्कुल, कार्यालयमा हाम्रा दिदीबहिनी, आमा, छोरी सबैलाई चाहिने आवश्यक घरयासी सानिटरी प्याड निर्माण गरी प्रयोगसम्बन्धी ज्ञान दिन सक्छन् । चोटपटक लागेमा सामान्य उपचार गर्न र रक्ताश्राव रोक्न, चोटपटक तथा घाउमा मलमपट्टी गर्न र सोमा प्राथमिक उपचारको ज्ञान दिन, रोगब्याधिको प्रकोप, लक्षण पहिचान तथा रोग नियन्त्रणको ज्ञान दिन, स्वास्थ्य क्लिनिक सञ्चालन गरी उपचार गर्न, सेवाग्राहीसँग गरिने सामाजिक व्यवहार, आपसी समन्वय र सद्भावबारे सुसूचित गर्न मद्दत गर्छन् । विद्यालय तहमा स्वास्थ्य विषय पठनपाठन र शारीरिक तन्दुरुस्तीका लागि योग, व्यायाम, शारीरिक अभ्यास गराउन, फिजिओ थेरापी, बालबच्चा रेखदेख तथा अध्ययन गृह सञ्चालन आदि जस्ता ज्ञान सिप उपलब्ध गराई सहयोग गर्न सक्छन् । साथै महामारीको समयमा सुरक्षित स्वास्थ्यको कार्यक्रम चलाउने जनशक्तिको रूपमा काम गर्न पनि उनीहरू सक्षम हुन्छन् । 

अहिलेको युग सम्पन्नता, स्वावलम्बी, अनुशासित, मर्यादित र स्वतन्त्रताको युग हो । त्यसैले सबै युवा जनशक्तिले आफूलाई अनुशासित, मर्यादित र दक्ष बनाउनु जरुरी छ । त्यसका लागि सरकार तथा राज्यमातहतका विभिन्न निकाय तथा विद्यालय, विश्वविद्यालयमार्फत गरिखाने खालको शिक्षाको व्यवस्था गरी सरकारको सहकार्यमा प्रयोगमा ल्याउनु पर्छ । 

गरिखाने विषयमध्ये सवारीचालक शिक्षा स्नातक तहमा सो विषय राखी तत्कालका लागि हाम्रा विभिन्न निकाय तथा विद्यालय, विश्वविद्यालयमा कार्यरत चालकलाई नै उक्त विषयको प्रयोगात्मक कक्षाका लागि प्राविधिकको रूपमा प्रयोग गर्न सकिन्छ । पछि क्रमशः ती कार्यरत चालक तथा हाम्रा योग्यता प्राप्त क्षमतावान् जनशक्तिमार्फत सवारी चालकसम्बन्धी नीति नियम, सिद्धान्तको ज्ञान र सिप दिने गरी पठनपाठन चलाउन सकिन्छ । यो विषयको पाठ्यक्रम बढीमा एक वर्षको हुनु सान्दर्भिक हुन्छ । अहिले स्वतन्त्र रूपमा खुलेका सवारीचालक सिकाइ केन्द्रबाट सिकाउने काम भइरहेको छ । सवारीचालक शिक्षाबाट चालकको समस्यालाई व्यवस्थित गर्न पनि नियामक निकायलाई सहज हुने थियो । यसो  गर्न सकेमात्रै श्रमसँग  शिक्षाको साइनो जोडिनेछ ।    

Author

प्राडा एकारत्न आचार्य