• १४ मंसिर २०८१, शुक्रबार

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम

blog

नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, जेठ १६ गते । 
नेकपा (एमाले) मकवानपुरको जेठ १८ र १९ गते हेटौँडामा हुने १२ औँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुर अध्यक्ष एवम् अधिवेशन आयोजक कमिटीका संयोजक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६८४ जना पार्टी सदस्यहरूबाट ७६९ जना अधिवेशन लागि प्रतिनिधि चयन गरिएको छ । अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू चयन गर्ने उहाँले बताउनुभयो । अधिवेशनमा मजदुर, पेसागत जनसङ्गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद् समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधिहरूले सहभागिता जनाउने छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने र निर्वाचित जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनीत गर्ने बताइएको छ ।

अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय सङ्गठनहरूबाट सहभागिता रहने एमाले मकवानपुरका इन्चार्ज देवी ज्ञवालीले बताउनुभयो । अधिवेशनका लागि दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरू बनाई सम्पूर्ण तयारीको काम भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्घाटन सत्रमा पार्टीका केन्द्रीय नेताहरू समेतको सहभागिता रहने बताइएको छ ।

एमाले मकवानपुरको अध्यक्ष पदमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङ्ताने, ध्रुव प्रसाद चौलागाई, देवराज रिमाल र लालबहादुर थापा लगायत आकाङ्क्षी देखिएका छन् । उपाध्यक्ष पदका लागि नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ र त्यस्तै सचिव पदमा मदन कुमार दाहाल, सुमित्रा काफ्ले लगायतको चर्चा रहेको छ । उपसचिव पदमा सिता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाईँ लगायताको चर्चा छ ।