• १३ साउन २०८१, आइतबार

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

blog

काठमाडौँ, जेठ १६ गते । सर्वोच्च अदालतमा कोशी सरकारविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्नुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च पुग्नुभएको हो ।

आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरीत भन्दै यसलाई रोक्नुपर्ने उहाँको माग छ । कोशीको मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिनुपर्ने बताउनुहुँदै निर्वतमान मुख्यमन्त्री कार्कीले अन्तरिम आदेशको माग गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख  अमरबहादुर विष्ट, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, सङ्कल्प प्रस्तावका समर्थक गणेशप्रसाद उप्रेती र किशोरचन्द्र दुलाल र नेकपा (एमाले)का संसदीय दलका नेता तथा सांसद हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।