अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १६ गते । निकै पुरानो संस्कार दाबी गरिएको मङ्गला गाउँपालिकाको बरंजा क्षेत्रमा मनाइने धुले मेलाको औपचारिक मुख्य विधि मंगलबारदेखि सुरु भएको छ ।
गएको जेठ ८ गते आफ्नो पौराणिक विधि पुरा गरेर जाँड राखेपछि थालनी भएको धुलेको मुख्य विधि तीन दिन हुने गर्दछ । मंगलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृ चढाउने काम भएपछि बरंजाको धुलेमेला मान्ने समुदायको बसोबास भएको क्षेत्रमा काम बारिएको धुले मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो । मंगलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले औपचारिक रूपमा समापन हुने तथा काम खुल्ने उहाँको भनाइ छ ।
मंगलबार पितृ चढाएपछि नुहाउने, धुने, तथा घर बाहिरका खनजोत जस्ता कार्य गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने अध्यक्ष रोकाको भनाइ छ । यस क्षेत्रकै सबै भन्दा पुरानो पर्व धुले मेला मङ्गला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरहरूको आफ्नो मौलिक संस्कार हो ।
चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुले १५ गते मंगलबार बाट सुरु भएको छ । बरंजा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरहरूले वि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर सँगै धुले मेला मनाउन थालेको तथ्यहरू भेटिएको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मङ्गला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो । १३ औँ शताब्दी देखिको यो परम्परागत पर्व अहिले पनि मनाउँदै आइएको उहाँको भनाइ छ ।
तत्कालीन समयमा ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्वको मूल विधि प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मङ्गलबार सुरु भएर बिहीबार व्यवस्थापन समितिका अध्यक्ष रोकाको भनाइ छ ।
धुले मेला पितृ उद्धारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुसी हुने धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाइ छ । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरु भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएको उहाँले बताउनुभयो ।
बरंजा क्षेत्रमा ५४ कुरिया मगरहरूको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङ्गी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राइ घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौथरका पुर्खाहरू मिलेर घुम्दै हतियार धनुष बाण बोकेर जङ्गली जनावरको सिकार गर्दै, तरुल, भ्याकुर खोजेर खादै आफ्ना परिवार सहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि त्यही क्षेत्रमा बसाइ बसेको हुन सक्ने उनीहरूको अनुमान छ ।
धुले मेलाको समयमा मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ । तर कोतघर नजिक ५४ कुरिया बाहेकका कसैलाई पनि जान निषेध गरिन्छ । बराङ्जाका घर्ती, रोका, बुढाथोकी र पुन मगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण भएको मान्न सकिने महेन्द्र रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाको भनाई छ । धुलेमेला पितृको सम्झना, पुरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ ।
मङ्गला गाउँपालिकाले धुले मेलालाई धार्मिक तथा पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण रहेकाले निरन्तर संरक्षण अभियानमा सघाइरहेको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचीन कालको सुन्दर उपहार भएको बताउनुहुन्छ । ५४ कुरिया मगर अन्तर्गतको समुदायका उहाँले परापूर्वकालमा पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको एउटा नमुना धुलेमेला भएको बताउनुभयो ।
अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरूलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरू प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ धुले मेला सकिन्छ ।
धुले मेलाका माकुरा बा अर्थात् जसवीर घर्तीले १४ वर्षको उमेर देखि धुलेको मूल दिनमा माकुरको भूमिका निर्वाह गर्न थाल्नु भएका उहाँको गएको वैशाखमा मृत्यु भएपछि अब भने नयाँ माकुरा बन्ने छन् । ७० वर्ष देखि लगातार माकुरको भूमिका निर्वाह गर्दै आउनु भएका उहाँको गएको वैशाखमा लडेर मृत्यु भएको थियो । धनुकाँड समातेर दर्शकलाई मनोरञ्जन गर्दै आफ्नो पितृकार्य पनि गर्ने कार्यलाई धुलेमा माकुरा भन्ने धुले मेला व्यवस्थापन समितिका अध्यक्ष रोकाले बताउनुभयो ।