• १० मंसिर २०८१, सोमबार

बनेपामा चलचित्र स्टुडियो बनाइने

blog

काठमाडौँ, जेठ १६ गते । काभ्रेको बनेपामा चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्षको बजेट मङ्गलबार प्रस्तुत गर्दै बनेपामा चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण कार्य सुरु गरिने बताउनुभएको हो । 

अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने बताउनुभयो । समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमि, गोरखा, जनकपुर, मटिहानीलगायत स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्धन गर्न विविध कार्यक्रम सञ्‍चालन गरिने जनाइएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायत अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्धन गरिने बजेटमा उल्लेख छ ।  त्यस्तै प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिनुका साथै सनातन धर्म र संस्कृतिका अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्न प्रोत्साहन गरिने जनाइएको छ । बजेटमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने पनि उल्लेख गरिएको छ । । 

तनहुँको चुँदी रम्घामा नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने छ । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने जनाइएको छ । यीसहित अन्य कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।