• ११ पुस २०८१, बिहिबार

सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।

उहाँले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गरी हिमाल जोगाऔँ, मानवता बचाऔँ अभियानलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकूलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्यूनीकरण र अनुकूलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताउनुभयो ।