• १९ असार २०८१, बुधबार

बङ्गलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष नौ सय मेगावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार ६ सय मेगावाट पुर्‍याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाटको दुधकोशी र ४१७ मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु गरिने पनि बताउनुभयो ।