• १६ भदौ २०८१, आइतबार

टी–२० विश्वकप : नेपाल ‘वार्मअप’ खेलमा क्यानडासँग ६३ रनले पराजित

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ १५ गते । आइसिसी टी–२० विश्वकप अन्तर्गत पहिलो ‘वार्मअप’ खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

डालासमा सोमबार राति भएको खेलमा जितका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउनुभयो । अनिलकुमार साहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाउनुभयो । अन्य खेलाडीको ब्याटिङ कमजोर बन्यो ।

नेपाललाई सस्तैमा समेट्न बलिङमा क्यानडाका डिलोन हेलिगरले चार विकेट लिनुभयो । जेरेमी गोर्डन र साद बिन जाफरले दुई दुई तथा कलिम साना र परगत सिंहले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्टोनले सर्वाधिक ५२ रन बनाउनुभयो । रविन्द्रपाल सिंहले ४१, नवनीत धलिवालले ३२, डिलोन हेलिगर र परगत सिंहले १३/१३ तथा ओपनर आरोन जोनसनले १० रन बनाउनुभयो । 

बलिङमा नेपालका अभिनाश बोहराले दुई विकेट लिनुभयो । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले एक एक विकेट लिनुभएको थियो । नेपालले दोस्रो  ‘वार्मअप’ खेल बिहीबार आयोजक अमेरिकासँग खेल्नेछ । 

त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जुन ४ तारिख खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बङ्गलादेशसँग खेल्नेछ । 

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।