• १३ साउन २०८१, आइतबार

उद्योगमा झन्डै दुई खर्ब लगानी प्रतिबद्धता

blog

काठमाडौँ, जेठ १५ गते  । चालु आर्थिक वर्षको १० महिनामा उद्योगमा एक खर्ब ८१ अर्ब लगानी प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार चालु आवको १० महिना (साउन–वैशाख) सम्म ३२४ उद्योगमा एक खर्ब ८१ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योगबाट २२ हजार ६०६ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ । १० महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । वार्षिक दुई सय सङ्ख्यामा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा १० महिनामा २५० वटा उद्योग दर्ता भएका छन् । नीतिगत रूपमा साना उद्योगलाई सुविधाको व्यवस्थाले पनि साना उद्योग दर्तामा उल्लेख्य वृद्धि भएको हो । 

चालु आवमा ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा १० महिनामा ३४ वटा उद्योग दर्ता भएका छन् । यस्तै वार्षिक ८० ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा १० महिनामा ४० वटा उद्योग दर्ता भएका छन् । चालु आवको वैशाख महिनामा साना, मझौला र ठुला उद्योग गरेर ३८ वटा दर्ता भई  १५ अर्ब  ८५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । वैशाख महिनामा ठुला उद्योग चार, मझौला सात र साना उद्योग २७ वटा दर्ता भएका छन् । 

१० महिनामा ४१ अर्ब ४२ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । 

वैशाख महिनामा ११ अर्ब ३२ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीबाट १३ हजार ८३४ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । १० महिनामा दुई वटा प्याटेन्ट र सात वटा डिजाइन दर्ता भएका छन् । १० महिनामा ट्रेडमार्क दर्ता पाँच हजार ७४१ दर्ता भएका छन् । 

प्रारम्भिक वातावरणीय परीक्षण (आइई) ३८ वटा र ट्रेडमार्कसम्बन्धी ५६ मुद्दा कारबाही गरिएको छ । यस्तै भारतमा रियायती निर्यातका लागि ७२ उत्पत्तिको प्रमाणपत्र सिफारिस गरिएको छ ।