• ३ असार २०८१, सोमबार

‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उदघाटन गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, जेठ १४ गते । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।

महोत्सवको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । “फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगतका लागि उपलब्धिमूलक हो”, उहाँले भन्नुभयो । 

मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गर्नुभयो । नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्य माझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा आफ्नो कविता वाचन गरेर सुनाउनुभएको थियो । मङ्गलबारसम्म सञ्चालन हुने उक्त फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिनुभयो । 

उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् । सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो : कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुहुनेछ । महोत्सवमा पाँच महादेशका ३५ भन्दा बढी लेखकको सहभागिता छ । रासस