• ३ असार २०८१, सोमबार

जनतालाई महसुस गराउने नीति तथा कार्यक्रम बन्दैछ : मुख्यमन्त्री अधिकारी

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

रमेश पौडेल

पोखरा, जेठ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउनेखालको नीति तथा कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताउनुभएको छ । मादी गाउँपालिका ७ मा निर्मित थाक समाजघरको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी हुँदैछ । जनताले प्रदेश सरकारको महसुस हुने र सबैको हित हुनेखालका योजनाहरु निर्माण गरी कार्यान्वयनमा जानेछ ।’

उहाँले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा बाटो निर्माण, खानेपानीको समस्या समाधान लगायत बारेमा जानकार भएकाले समस्या समाधान गर्न निरन्तर लाग्ने छु ।’ 

मुख्यमन्त्री अधिकारीले मादी गाउँपालिकामा विकास निर्माणका काम तीव्रताका साथ गर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभयो । सामाजिक सेवामा प्रतिबद्ध व्यक्तित्वहरुको प्रशंसा गर्दै उहाँले समाज घर निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो । 

त्यस्तै गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङले आफू सोही क्षेत्रको जनप्रतिनिधि भएकाले जनताका सुख दुख नजिकबाट बुझेकाले त्यहाँ देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो ।