• ३ असार २०८१, सोमबार

मनभित्रको निर्णय सिर्जनात्मक हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ १३ गते । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मनभित्रको अन्तरब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा उहाँले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताउनुभयो । शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, साहसी, नीडर व्यक्तित्व रहेको बताउनुभयो । उहाँले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पुस्तकले सामाजिक यथार्थलाई जसरी चित्रण गर्न खोजेको छ । त्यो लेखकको चेतना, बौद्धिकता, साहस र सामाजिक परिवर्तनप्रतिको उत्कृष्ट अभिलाषा पनि हो । प्रस्तुतिमा त्यसको स्पष्ट छनक पाउन सकिन्छ । पुस्तकका लेखक शारदा श्रेष्ठलाई मैले जति नजिकबाट चिनेको छु, मेरो अन्तरात्माले के भन्छ भने उहाँ निष्ठावान, कर्तव्यपरायण, साहसी, नीडर हुनुहुन्छ । मनभित्रको अन्तरब्रह्मले लिने निर्णय सार्थक र सिर्जनात्मक हुन्छ ।’

उहाँका अनुभवहरुले तत्कालीन अदालतको कार्यशैली, कार्य वातावरण र प्रवेशको चित्रण पुस्तकमा भएको उहाँले चर्चा गर्नुभयो । महिला न्यायाधीशप्रति कार्यस्थलमा हुने फरक व्यवहार र महिला कर्मचारीले भोग्नुपर्ने असुविधालाई पुस्तकमा उजागर गरिएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश श्रेष्ठले सेवानिवृत्त भएपछि पनि महिला शिक्षा तथा समाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताउनुभयो । महिलाको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताउनुभयो ।