• ३ असार २०८१, सोमबार

राजविराजमा भलुवाही खोला सरसफाइ अभियान सुरु

blog

सप्तरी युथको आयोजनामा भलुवाही खोला सरसफाइमा जुटेका युवाहरु । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, जेठ १२ गते । सप्तरीको राजविराज नगरपालिकामा रहेको भलुवाही खोला सरसफाइ अभियान सुरु गरिएको छ । सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा शनिबारदेखि भलुवाही खोला सरसफाइ अभियान सुरु गरिएको हो । 

"सरसफाइ तपाईंको हातमा हामी युवा तपाईंको साथमा" भन्ने नाराका साथ भलुवाही खोला पूर्ण सरसफाई गरेरै छाड्ने प्रतिबद्धताका साथ सरसफाइ अभियान प्रारम्भ गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

समुदायलाई सफा, स्वास्थ, र वातावरणीय रूपमा सुधार गर्ने, वातावरणीय सुधार गरी सामुदायिक भावना मजबुत बनाउने, विभिन्न स्वास्थ्य समस्याहरू घटाउने, पर्यावरणीय सन्तुलन  कायम राख्न, र समुदायको समग्र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने यस सरसफाइ अभियानमा जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारीहरु, राजनीतिक दल, सञ्चारकर्मी, स्थानीय युवाहरूले विगत देखि यस भलुवाही खोलाको सरसफाइको लागी अभियान थाल्नु सप्तरी युथ नेपालको राम्रो पक्ष रहेको स्थानिय बताउनुहुन्छ ।

एक वर्षभित्र भलुवाही खोला सरसफाइ तथा बृक्षरोपण समेत गर्ने अभियानमा सम्पुर्ण सप्तरीबासी तथा आम राजविराजबासीको सहयोग पाउने अपेक्षाका साथ अभियानलाई अगाडि बढाइएको सप्तरी युथ नेपालले जनाएको छ । 

भलुवाही खोला सरसफाइ अभियानको पहिलोदिन सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य सतिशकुमार सिंह, राजबिराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, प्रमुख जिल्ला अधिकारी किरण थापा, माओवादी केन्द्रका युवा नेता एवम् राजविराज नगरपालिका ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता जयनारायण मण्डल, नेकपा एमालेका  सप्तरी प्रवक्ता अखलेश कुमार झा, राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्ग, लगायतको उपस्थिति थियो ।