• ३ असार २०८१, सोमबार

बाँकेमा किसानसँग पालिका प्रमुख कार्यक्रम

blog

खजुरा (बाँके), जेठ १२ गते । बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरुले बताएका छन् । 

किसानलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले राससलाई बताउनुभयो । वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । उनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उहाँले जानकारी दिनुभयो । 

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चार वटा वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ । रासस