• ३ असार २०८१, सोमबार

‘कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ’

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । फाइल तस्बिर

काँक्रेविहार (सुर्खेत), जेठ १२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताउनुभएको छ । उहाँले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताउनुभयो । 

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गर्नुभयो । “२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्”, उहाँले भन्नुभयो, “आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।” तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ  । 

सीमित स्रोत साधनकैबिच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले क्षमताअनुसार शासन चलाउन सङ्घीयता ल्याइएको तर अपेक्षाअनुसार काम गर्न नसक्दा जन आक्रोश बढिरहेको बताउनुभयो । विगतमा दामासाहीले बजेट विनियोजन गर्ने प्रचलन भएको उहाँको धारणा थियो । “प्रदेशभरिकै विद्यार्थी वीरेन्द्रनगर केन्द्रित हुने, भौतिक संरचनादेखि सबै कुराको अभाव हुने अवस्था अब सुधार गर्ने प्रयास गर्छु”, उहाँले भन्नुभयो । कार्यक्रममा जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम एशोसिएसनका केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठले कार्यपत्र पेस गर्नुभएको थियो । रासस