• ३ असार २०८१, सोमबार

कच्चा पदार्थ मूल्यवृद्धिले ग्रिल उद्योग सङ्कटमा

blog

काठमाडौँ, जेठ १२ गते । ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यवृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको भन्दै महासङ्घले आपत्ति जनाएको छ ।

मुुलुकभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष ठुलोबाबु श्रेष्ठले अनियन्त्रित र अस्वाभाविक ग्रिल जन्य फलामको मूल्य अत्यधिक रूपमा बढेको कारण व्यवसाय नै धराशायी हुने स्थितिमा मात्र पुगेको जानकारी दिनुुभयो । संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।

अस्वाभाविक रूपमा बढेको ग्रिलजन्य फलामको मूल्य तुरुन्त मल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयरहरूको विरुद्ध सङ्घर्ष गर्न बाध्य हुने उहाँको भनाइ छ । 

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीविरुद्ध अस्थायी सरकार र राजनीतिक सङ्व्रmमणकालको फाइदा उठाउँदै ठुला कम्पनीले गरेको मनोमानीविरुद्ध ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपाल गम्भीर आपत्ति जनाउँदै आमव्यवसायी तथा उपभोक्तालाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) तथा कथित आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योग बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।