• ३ असार २०८१, सोमबार

अर्मेनियाद्वारा अजरबैजानलाई चारवटा सीमावर्ती गाउँ फिर्ता

blog

येरेभान (अर्मेनिया), जेठ ११ गते । अर्मेनियाले दशकौं पहिले कब्जा गरेको बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिलीका चार सीमावर्ती गाउँहरू अजरबैजानलाई फिर्ता गरेको शुक्रबार दुवै देशले पुष्टि गरेका छन् । यो ऐतिहासिक प्रतिद्वन्द्वीबीचको सम्बन्ध सामान्यीकरणको एक महत्त्वपूर्ण कदम हो । 

अर्मेनियामा लामो विद्रोह निम्त्याएको यो कदमले रूस र पश्चिमी देशहरूको मध्यस्थतामा वर्षौंको निष्फल वार्तापछि व्यापक शान्ति सम्झौतामा पुग्ने दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ । दुई देशले नागोर्नो–काराबाखको विभाजित क्षेत्र नियन्त्रणका लागि सन् १९९० र सन् २०२० गरी दुईवटा युद्ध लडेका थिए ।

अजरबैजानले गत वर्ष एकाएक आक्रमण गरी यो क्षेत्रलाई पुनः कब्जा गरेको थियो । आक्रमणपछि एक लाखभन्दा बढी स्थानीयहरु आर्मेनियातर्फ भाग्न बाध्य भएका थिए भने तीन दशकको अर्मेनियाली अलगाववादी शासनको अन्त्य भएको थियो ।

अर्मेनियाको उच्च सुरक्षा अधिकारीले हालैको सीमा सीमाङ्कन सम्झौतालाई प्रतिबिम्बित गर्दै यस क्षेत्रमा खटिएका सीमा रक्षकहरु देशको पूर्वमा स्थानान्तरण गरिएको र  गाउँहरूलाई अजरबैजानको नियन्त्रणमा दिएको शुक्रबार पुष्टि गरेका छन् ।

त्यसैगरी, अजरबैजानका उपप्रधानमन्त्री शाहिन मुस्तफायेभले आफ्नो देशको सीमा रक्षकहरूले चारवटा बस्तीहरूको नियन्त्रण लिएको छुट्टै घोषणा गर्नुभयो ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले मार्चमा स्थायी शान्ति सम्झौता सुरक्षित गर्ने प्रयासको एक हिस्साको रूपमा सन् १९९० को दशकमा कब्जा गरिएका चार गाउँहरू फिर्ता गर्न सहमत हुनुभएको थियो । दुई देशहरूबीच यस महिनाको सुरुमा उनीहरूको सिमानाको १२.७ किलोमिटर (लगभग सात माइल) को नयाँ सीमाङ्कनमा सहमति भएको थियो । सोही अनुसार बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिली गाउँहरू अजरबैजानलाई फिर्ता गरिएको हो । 

पसिन्यानले यो सम्झौतालाई अर्मेनियाको सार्वभौमसत्ताका लागि धेरै महत्त्वपूर्ण र यसले देशको सुरक्षा र स्थिरतालाई प्रोत्साहन गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । येरेभानले सुम्पिएको क्षेत्रको भूपरिवेष्ठिक देश अर्मेनियाका लागि रणनीतिक महत्त्व रहेको छ किनभने यसले जर्जियाको महत्त्वपूर्ण राजमार्गलाई जोड्छ ।

अर्मेनियाली बासिन्दाले भने पसिन्यानको यस कदमले उनीहरूलाई देशको बाँकी भागबाट अलग गर्न सक्ने भय व्यक्त गर्दछन् । अर्मेनियाले आगामी केही महिनामा यस क्षेत्रमा नयाँ सडक निर्माण गर्ने पसिन्यानले बताउनुभएको छ ।

प्रधानमन्त्री पसिन्यानको उक्त निर्णयले उहाँको राजिनामा माग गर्दै करिश्माई धर्मगुरु बग्रात गलस्तान्यानको नेतृत्वमा हजारौं प्रदर्शनकारीको साथमा अर्मेनियामा सरकार विरोधी प्रदर्शनको सुरु भएको छ ।

अर्मेनियाको राष्ट्रिय सुरक्षा सेवाले शुक्रबार अर्मेनियाली गाउँ किरान्ट्स नजिकैको सिमानाको ५.८ किलोमिटर क्षेत्रलाई ‘जुलाई २४ सम्म सङ्क्रमणकालीन योजना अनुसार’ सुरक्षा गरिने बताएको छ । किरान्ट्स गाउँका मेयरले नयाँ सडक निर्माण नभएसम्म अजरबैजानको नियन्त्रणमा हस्तान्तरण गरिने सडकको एउटा भाग प्रयोग गर्न स्थानीयहरूलाई अनुमति दिइने बताउनुभएको छ । रासस/एएफपी