• २ असार २०८१, आइतबार

दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै

blog

फाइल तस्बिर

काभ्रेपलाञ्चोक, जेठ ११ गते । सङ्घीय राजधानी काठमाडौँ उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् । दुईपाङ्ग्रे सवारीसाधन चोरीका शृङ्खलाबद्ध घटना हुन थालेपछि प्रहरीको सक्रियता बढाइएसँगै चोरीमा संलग्न केही व्यक्ति पक्राउसमेत परेका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार चालु आर्थिक वर्षको भदौदेखि हालसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ मोटरसाइकल तथा स्कुटर हराएका मध्ये १६ वटा फेला परेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ सल्लेका कुमार तामाङको सोमबार राति ११ बजे एक सय ५० सिसीको पल्सर मोटरसाइकल र सोही वडाका सुजन भुजेलको दुई सय २० सिसीको पल्सर मोटरसाइकल चोरी भयो । चोरीलगत्तै पीडितले प्रहरीलाई खबर गरेपछि सिसी क्यामेराको अध्ययनबाट पनौती–५ स्थित बाँसघारीबाट दुई मोटरसाइकल चोरी गर्ने सोही वडाका दुई युवालाई पक्राउ गरियो ।

इलाका प्रहरी कार्यालय बनेपाले २० वर्षीय रुबिन भुजेल र पनिस भुजेललाई मोटरसाइकल चोरीको अभियोगमा बुधबार मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान गरिरहेको छ । यही जेठ २ गते बिहान ३ बजे गस्तीमा खटिएको प्रहरीले बनेपाको धनेश्वरस्थित बनेपा-पनौती सडकखण्डबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ का ३६ वर्षीय गर्जन दियालीलाई विना हेल्मेट एक सय ५० सिसीको पल्सर मोटरसाइल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोजेपछि चोरी भएको अनुमान गरिएको इप्रका बनेपाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । “दियालीलाई जति केरकार गरे पनि मोटरसाइकल चोरीको गिरोहका बारेमा केही खुलाएनन् । प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी निजबारे थप अनुसन्धान गरिरहेको छ”, उहाँले भन्नुभयो । गत वैशाख ३० गते राति बनेपास्थित बसपार्कबाट बिनाहेल्मेट मोटरसाइकल चलाएर आउँदै गरेका महाभारत गाउँपालिका-६ का २५ वर्षीय होइसेर थिङ तामाङ, सोही गाउँपालिका-७ का २४ वर्षीय बुद्ध मोक्तान र २२ वर्षीय अनिल स्याङ्तानलाई प्रहरीले पक्राउ गर्यो । 

सादा पोशाकमा गस्ती गरिरहेको प्रहरी टोलीले शङ्काका आधारमा सोधपुछ गरी दुई सय २० सिसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बनेपा-८ स्थित लञ्जबारको पार्किङस्थलबाट चोरिएको उक्त मोटरसाइकल चोरीमा अन्य दुई जना पनि संलग्न रहेको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँका अनुसार यही जेठ १ गते धुलिखेलस्थित जिल्ला अदालतबाट म्याद थप गरी हाल उनीहरुमाथि अनुसन्धान भइरहेको छ । 

गत वैशाख १ गते राति चार वटा मोटरसाइकल चोरी भएका घटना प्रहरीमा उजुरी परेका छन् । सोही दिन साँझ ७ बजे बनेपा-५ जलेश्वरमा मन्दर लामाको मोटरसाइकल चोरी भयो । साँझ ७ बजे बनेपा-१३ शिव मन्दिर नजिकैबाट विष्णु तामाङको, सोही राति ८ बजे बनेपा-७ गोदाम चोकबाट बोलप्रसाद सापकोटाको, बनेपा-६ बुडोलबाट कुमार मैनालीको मोटरसाइकल चोरी भएको थियो । प्रहरीले ती घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्रन सकेको छैन । ती घटनामा चोरी गर्ने गिरोहले समय र स्थान मिलाएर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । 

उहाँले दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटनाको अनुसन्धान निरन्तर गरिरहेको भन्दै पक्राउ परेकाबाट थप विवरण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिनुभयो । बनेपा–६ रातमाटाबाट गत चैत १५ गते हरेराम हुमागाईंको घरभित्र पार्किङ गरिएको मोटरसाइकल चोरीमा संलग्नको हालसम्म केही सुराकसमेत पाउन नसकेको सुवेदीको भनाइ छ । “चोरीको गिरोहका व्यक्तिलाई पक्राउ नगर्दासम्म मोटरसाइकल चोरी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । हामी निरन्तर घटना न्यूनीकरणमा लागि रहेका छौँ”, उहाँले भन्नुभयो । प्रहरी उपरीक्षक सुवेदीका अनुसार जेठ महिनाको डेढ हप्तामा तीन वटा मोटरसाइकल चोरीका घटना भएका हुन् । 

गत वैशाखमा १२ वटा मोटरसाइकल हराए भने गत भदौमा १० वटा दुईपाङ्ग्रे सवारीसाधन चोरी भएका छन् । धुलिखेल नगरका इञ्जिनियरसमेत रहनुभएका हुमागाईंले घटनायता प्रहरीलाई चोरी पत्ता लगाई मोटरसाइकल खोजिदिन आग्रह गर्दै आउनुभएको छ । प्रहरीले चोरेपछि मोटरसाइकलका पार्टपुर्जा बेच्ने सम्भावित क्षेत्र ग्यारेज, कबाडी पसल तथा पार्टपुर्जा बिक्री गर्ने पसलका व्यवसायीलाई आवश्यक सोधपुछ गरेको जनाएको छ । बनेपाबाट मोटरसाइकल चोरेर ग्रामीण क्षेत्र लैजान सक्ने भएकाले चोरी नियन्त्रणका लागि जिल्लास्थित प्रहरी कार्यालयले मातहतका प्रहरी निकायमा सर्कुलर गरिएको जनाएको छ । रासस