• ३ असार २०८१, सोमबार

पपुवा न्युगिनीमा पहिरोमा परी करिब सयजनाको मृत्यु भएको आशङ्का

blog

सिड्नी, जेठ ११ गते । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या एक सयभन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म यकिन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भन्नुभयो, “मानिसहरु राती सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउँ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।”

लारुमाले भन्नुभयो, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् । रासस/सिन्ह्वा