• ३ असार २०८१, सोमबार

स्थानीय विकास बजेट खर्च निराशाजनक

blog

नवराज श्रेष्ठ 

रामेछाप, जेठ ११ गते  । रामेछाप जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ । यहाँका नगरपालिका तथा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्मको बजेट खर्च कम भएको पाइएको हो । चालुतर्फको खर्चको तुलनामा पुँजीगततर्फको बजेट खर्चको अवस्था झनै कमजोर रहेको छ । 

विकास बजेट खर्च कम हुनुले रामेछापका स्थानीय तहहरू असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन यहाँका स्थानीय तहहरू अझै गम्भीर बन्न सकेका छैनन् । रामेछापमा दुई नगरपालिका र छ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । 

जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले झन्डै १० महिनाको अवधिमा ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आव २०८०/८१ को साउनदेखि वैशाख २५ सम्म नगरपालिकाले कुल एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटको ५५ प्रतिशत अर्थात् ५७ करोड ५० लाख २० हजार छ सय रुपियाँ खर्च गरेको हो । यो अवधिसम्म नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गत चालु आवका लागि स्वीकृत बजेटमा चालुतर्फ ६५ प्रतिशत र पुँजीगत खर्च ४० प्रतिशत गरी जम्मा ५५ प्रतिशत बजेट खर्च गरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले बताउनुभयो । 

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा चालु आवको नौ महिनामा चालु आवमा सम्पन्न हुनुपर्ने ४४८ वटा योजनाको ४१.७४ प्रतिशत योजनाको भुक्तानी भएको छ । यो अवधिसम्म ३०८ योजनाको सम्झौता भएकोमा १८७ योजनाको भुक्तानी भएको योजना प्रशासन, अनुगमन तथा मर्मत उपशाखाले जनाएको छ । 

यस्तै रामेछाप नगरपालिकाले चालु आवको जेठ पहिलो हप्तासम्म कुल बजेटको ५४.९५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आव २०८०/८१ मा चालुतर्फ ५० करोड ८१ लाख ५३ हजार ९४५ र पुँजीगततर्फ २५ करोड पाँच लाख ५३ हजार ६९६ गरी ७५ करोड ८७ लाख सात हजार ६४१ रुपियाँ विनियोजन गरिएको थियो । हालसम्म चालुतर्फ ६१.८३ प्रतिशत अर्थात् ३१ करोड ४१ लाख ९१ हजार ५८४ रुपियाँ र पुँजीगततर्फ ४१.६५ प्रतिशत अर्थात् १० करोड १८ लाख ५० हजार ७७ रुपियाँ खर्च भएको रामेछाप नगरपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख होमबहादुर थापाले बताउनुभयो । 

सुनापतिको खर्च ३० प्रतिशत मात्रै 

सुनापति गाउँपालिकाले चालु आवको १० महिनामा जम्मा ४७ प्रतिशत बजेट खर्च गरेको छ । यो गाउँपालिकाको विकास बजेट खर्च झनै निराशाजनक ३० प्रतिशत मात्रै भएको छ । चालु आवमा चालुतर्फ ३२ करोड ९८ लाख ६५ हजार र पुँजीगततर्फ २२ करोड चार लाख ५७ हजार गरी ५५ करोड ३२ लाख २२ हजार रुपियाँ बजेट विनियोजन भएको छ । यसमध्ये गत साउनदेखि वैशाखासम्म चालुतर्फ ५८.२४ प्रतिशत अर्थात् १९ करोड २१ लाख १३ हजार ३७६ रुपियाँ र पुँजीगततर्फ ३०.६७ प्रतिशत अर्थात् छ करोड ७६ लाख एक हजार ४१४ रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताउनुभयो । सुनापति गाउँपालिकाको चालु र पुँजीगत गरी कुल बजेट ५५ करोड ३२ लाख २२ हजार रुपियाँको ४७.१९ प्रतिशत अर्थात् २६ करोड ५१ लाख दुई हजार २३९ रुपियाँ खर्च भएको छ । यो अवधिसम्म यो गाउँपालिकामा १२८ वटा योजना सम्पन्न हुनुपर्नेमा ६६ वटा योजनाको भुक्तानी भएको छ । 

जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा चालु आवको हालसम्म १२६ वटा योजनाको भुक्तानी भएको छ । चालु आवमा यो गाउँपालिकामा २०६ वटा योजना सम्पन्न हुनुपर्नेमा अहिलेसम्म १२६ वटाको काम सम्पन्नपश्चात् आवश्यक अनुगमन, निरीक्षण गरी भुक्तानीसमेत भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताउनुभयो । उहाँका अनुसार बाँकी ८० वटा योजनामध्ये १५ वटा योजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको र ६५ वटा योजनाको काम सम्पन्न भए पनि भुक्तानी दिन बाँकी छ । सात वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकामा चालु आवमा ७७ करोड रुपियाँ बढी बजेट विनियोजन भएको छ ।