• २ असार २०८१, आइतबार

गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : सञ्चारमन्त्री मन्त्री शर्मा

blog

गणतन्त्र दिवस–२०८१ का अवसरमा बिहीबार राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आयोजित ‘गणतन्त्रको उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौँ, जेठ १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ । 

बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीमा बोल्नु हुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतान्त्रिक व्यवस्थामा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको हो। 

उहाँले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । अहिले जतिसुकै ठुलो पदीय हैसियतमा भए पनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उहाँले बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ । यसमा मानव सूचकाङ्कदेखि लिएर समग्र क्षेत्रमा सकारात्मक प्रभाव अगाडि बढाउँदै छ भन्ने कुरालाई तथ्य, तथ्याङ्कबाट बाहिर राख्यौँ । सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबरजस्त भाष्य स्थापित गर्‍यो । ठुलो मान्छे भएपछि जे गरेपनि हुन्छ ।’’ 

उहाँले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धि हासिल भएको बताउनुभयो । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधार धेरै बनेको र विकास हुन थालेको पनि बताउनुभयो ।