• २ असार २०८१, आइतबार

भेरी अस्पतालको स्वास्थ्य बिमा सेवाबारे अनुगमन

blog

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा बारे अनुगमन गर्दै टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १० गते । स्वास्थ्य बिमा गराएका बिरामीहरूको उपचार गर्दै आएको यहाँस्थित भेरी अस्पतालले बिमा गराएका बिरामीलाई दिने उपचार सेवाबारे अनुगमन गरिएको छ । 

स्वास्थ्य बिमा गराएर सो अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका धेरै बिरामीहरूले अस्पतालको सेवा प्रवाहबारे विभिन्न गुनासा गरेका छन् । अनुगमनको क्रममा भेरी अस्पतालको बिमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पतालभित्रै रहेका विभिन्न परीक्षणका लागि बाहिर पठाउने गरिएको, निःशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बिमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठ नागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् । 

स्थानीय तह स्वास्थ्य बिमा संयोजन समितिका प्रतिनिधि, जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि, बिग्रुपका अध्यक्ष लगायतका कर्मचारी, उपमहानगर स्वास्थ्य शाखाका प्रतिनिधि, एमडिएम फ्रान्सका प्रतिनिधि र पत्रकारको सहभागितामा सो अनुगमन गरिएको हो । पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्ज, खजुरा र डुडुवाका ७२९ सरसफाइकर्मी र ३०२ जना किसान गरेर एक हजार ३१ जनाको स्वास्थ्य बिमा गराइएकोले सेवा प्रवाह बारे अनुगमन गरिएको परियोजना संयोजक समद सिद्धिकीले बताउनुभयो । 

उहाँले लक्षित समुदायमा स्वास्थ्य बिमा सेवाको पहुँच तथा उपयोगिताका सम्बन्धमा जानकारी लिन भेरी अस्पतालको अनुगमन र समीक्षा गरिएको बताउनुभयो । अनुगमन टोलीले अस्पताल पुगेर बिमा काउण्टर, निःशुल्क औषधी वितरण काउण्टर, एक्स-रे गर्ने कोठा, ओपिडी लगायतका सेवाहरूको निरीक्षण गरेर सो बारेमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहसँग पनि छलफल गरेको थियो । 

अनुगमनका क्रममा अस्पतालमा पाइएको सेवा सुविधाको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा अधिकांश सहभागीले स्वास्थ्य बिमाको सेवा सुविधामा धेरै सुधारको आवश्यकता रहेको धारणा राख्नुभयो । सबै सहभागीले यस्तो अनुगमन पटक-पटक गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुगमनको निरन्तरता र अनुगमनबाट प्राप्त सुझावलाई लिखित रूपमै भेरी अस्पतालमा पठाउनुपर्ने बताउनुभयो । 

अनुगमन टोलीमा रहनुभएका नेपालगन्ज उपमहानगरका वातावरण तथा सरसफाइ समितिका संयोजक समीर प्रतापसिंह, वातावरण शाखाका प्रमुख इन्जिनियर प्रकाश डिसी, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष मिरा खनाल, नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका जागेश्वर बस्नेत, स्वास्थ्य बिमा बाँकेका इन्चार्ज रमेश आचार्य, स्वास्थ्य बिमा भेरी अस्पताल डेस्कमा कार्यरत बिन्दु गौतम कँडेल, डुडुवा ६ का अम्बल सिंह र नेपालगन्ज २३ का माया तामांगले समीक्षा कार्यक्रममा स्वास्थ्य बिमाको सेवा बारे अस्पतालमा देखिएको अवस्थाको जानकारी गराउँदै विभिन्न सुझाव दिनुभएको थियो। 

एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बि ग्रुपद्वारा जिल्लाका तीन पालिकामा पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरिएको छ । राष्ट्रिय बिमा कार्यक्रमप्रति नागरिकको भरोसा र विश्वास बढ्दै गएकाले अस्पतालमा बिमा गराएका बिरामीको अत्यधिक चाप रहेपनि सेवा प्रवाहमा धेरै कमी कमजोरी रहेकोले सुधारको आवश्यकतामा जोड दिइएको छ ।