• २ असार २०८१, आइतबार

सहवासका क्रममा लडेर पाटेबाघको मृत्यु

blog

विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा मृत फेला परेको पाटेबाघ । तस्बिर: बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, जेठ १० गते ।
 नवलपुरमा गत चार महिनाको अवधिमा तीनवटा दुर्लभ पाटेबाघ मरेका छन् । बुधबार जिल्लाको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा एउटा पाटेबाघ मरेसँगै मृतक बाघको सङ्ख्या तीन पुगेको हो ।

विनयी खोलामा  पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थानभन्दा १०–१२ मिटर हिँडेपछि ढलेको स्थानीयले बताएका छन् । स्थानीयले खिचेको उक्त भिडियो अहिले सामाजिक सञ्चालनमा भाइरल भएको छ ।

स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो ।

यो पटक भने बाघसँगै जुधेर घाइते भएको बाघ मरेको हो । बाघको पोस्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते भएको र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ चिकित्सक विजय कुमार श्रेष्ठको टोलीले बिहीबार पोस्टमार्टम गरेको हो ।

पोस्टमार्टम रिपोर्टमा दुईवटा बाघ लडेको र ढाडमा चोट लागेकोमा सो घाउ निको नभएका कारण उसको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै डिभिजन वन अधिकृत लम्सालले बनाउनुभयो । पोथीसँग सहवासको बेला बाघ लड्ने गरेको बताइन्छ ।

‘‘हरेक बाघको जङ्गलभित्र एउटा सीमा घेरा हुन्छ । त्यो भित्र अर्को बाघ प्रवेश गरे वा पोथी बाघसँगको सहवासको समयमा बाघहरू जुध्ने गर्छन् । त्यसैबेला घाइते भएको बाघको ढाडमा घाउ देखिएको र निको नभएर मरेको देखिन्छ,’’ चिकित्सकलाई उद्धृत गर्दै वन अधिकृत लम्सालले भन्नुभयो ।

यसअघि फागुन ६ गते मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलाको जङ्गलमा र त्यसको १० दिनपछि मध्यविन्दु १५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटेबाघ मारेर गाडेको अवस्थामा फेला परेको थियो । ती दुवै बाघ ढिला गरी गलेको अवस्थामा भेटिएकाले बाघ कसरी मरेका/मारिएका थिए भन्ने रिपोर्ट भने आएन । हरेक महिना जसो एउटा बाघ मर्न थालेपछि लोपोन्मुख पाटेबाघको संरक्षणमा चिन्ता थपिएको छ ।