• २ असार २०८१, आइतबार

मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै

blog

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाकाे १०२ जना सर्जरी बिरामी काठमाडौँको केयमसी अस्पतालमा जाँदै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, जेठ १० गते । 
मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो । उक्त शिविरमा जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका १०२  जना बिरामीको सर्जरीका लागि काठमाडौँ मेडिकल कलेज (केयमसी) अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । निःशुल्क उपचारका लागि बिहीबार छायाँनाथ रारा नगरपालिकाको सहजीकरणमा उनीहरूलाई काठमाडौँ पठाएको हो ।

दुर्गम भेगका नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्नबाट वञ्चित भएका त्यस्ता नागरिकको उपचारमा सहजता गर्ने उद्देश्यले बागमती प्रदेशका सांसद डा. सुनिल शर्माले काठमाडौँको केयमसी अस्पतालमा मुगुका १०२ जना बिरामीलाई निःशुल्क उपचार गर्ने जिम्मा लिएको सो नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले जानकारी दिनुभयो ।

उक्त शिविरमा नगरबाट १०२ जना सर्जरीको उपचाका लागि रिफर भएका बिरामी र  गार्जेनलाई खाना र आउजाउमा लाग्ने लागत सबै छायाँनाथ रारा नगरपालिकाले बेहोर्ने गरेको नगरप्रमुख भामले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएर खुट्टाको शल्यक्रिया गर्नबाट वञ्चित भएका र रोगबाट पीडित हुँदै आएका खम्मलाल बुढाले उपचार गर्नलाई जिल्लाभन्दा बाहिर जान पाउँदा विपन्न नागरिकले उपचार गर्न पाउँदा खुसीको महसुस भएको उहाँ बताउनुहुन्छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको डा.सुनिल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रेफर गरिएकाको केयमसी अस्पतालमा निःशुल्क उपचार हुने छ । उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामीण भेगका गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयाे ।