• ११ मंसिर २०८१, मङ्गलबार

दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा

blog

सियोल, जेठ १० गते । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्त्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गर्नुभएको हो ।

दक्षिण कोरियामा सामसुङ इलेकट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन् । दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठुलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भन्नुभयो, “हामीले २६ ट्रिलियन कोरियन बोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ । यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ ।”

यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ । युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताउनुभयो ।

कार्यक्रम अनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठुलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौँ रोजगारी सिर्जना गर्ने दाबी गरेको छ ।

युनले भन्नुभयो, “तपाईँहरू सबैलाई थाहा छ, सेमीकन्डक्टर उत्पादन राष्ट्रिय विकासका लागि अवसर र चुनौतीको क्षेत्र हो । यसले अर्थतन्त्र र समाजलाई सशक्त बनाउँदै यसले कोरियाली आवश्यकता अनुसार पूर्णतया हतियार निर्माणका सामग्री र हतियार निर्माणमा पनि सहयोग गर्नेछ ।”

उहाँले भन्नुभयो, “जीत वा हार उच्च सूचना संस्करण क्षमताको साथ अत्याधुनिक सेमीकन्डक्टरहरू कसले बनाउँदछ भन्नेमा निर्भर गर्दछ । सेमीकन्डक्टरलाई राज्यले सहयोग गर्नुपर्छ ताकि उनीहरू प्रतिस्पर्धीभन्दा पछि नपरून् ।”

नयाँ प्याकेजका लागि कोरिया विकास बैङ्क मार्फत ‘१७ ट्रिलियन वोनको नयाँ सेमीकन्डक्टर वित्तीय सहायता कार्यक्रम’ सञ्चालन हुनेछ, जसले कम्पनीहरूलाई महत्त्वपूर्ण नयाँ लगानी गर्न अनुमति दिनेछ ।

“कम्पनीहरूले नयाँ कारखाना र लाइन विस्तारजस्ता सुविधाहरूमा ठुलो रकम लगानी गर्दा तरलताको समस्या उत्पन्न हुन्छ तर कोरिया विकास बैङ्कको सहयोग कार्यक्रममार्फत यी समस्याहरू धेरै हदसम्म समाधान हुनेछन् भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो ।

यो योजनाले एक ट्रिलियन बोन बराबरको ‘सेमीकन्डक्टर पारिस्थितिक कोष’ पनि सिर्जना गर्नेछ । यसले फ्यावलेस (हार्डवेयर यन्त्र र अर्धचालक चिफहरूको उत्पादन र बिक्री) का क्षेत्रमा काम गर्ने कम्पनी र उद्योगसँग सम्बन्धित साना र मझौला उद्यमहरूलाई सहयोग गर्नेछ ।

“हाम्रो फ्याबलेस बजार हिस्सा अझै पनि एक प्रतिशतको दायरामा छ, र प्रणालीगत सेमीकन्डक्टरहरू उत्पादन गर्दछ र टीएसएमसीजस्ता अग्रणी कम्पनीहरूसँगको अन्तरलाई बन्द गर्न असमर्थ छ,” यूनले भन्नुभयो ।

यसै महिनाको सुरुमा सियोलले आफ्नो चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलरभन्दा बढीको सहायता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो । यो योजना एसियाको चौथो ठुलो अर्थतन्त्र मानिने दक्षिण कोरियाका लागि महत्त्वपूर्ण सेमीकन्डक्टर क्षेत्रलाई बढावा दिने अभियानको एक हिस्सा हो ।

कोरियाली सरकारले चिप्स, डिस्प्ले र ब्याट्रीसहित छ वटा प्रमुख प्रविधिमा ठुलो लगानी गर्न खोजिरहेको बेला यो कदम चालिएको हो । रासस/एएफपी