• १३ साउन २०८१, आइतबार

बाँकेमा २४३ वटा खोप केन्द्र कायम

blog

आईपिभी खोप अभियानको तयारीका लागि गरिएको कार्यक्रममा प्रजिअ लगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १० गते । बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ। 

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सञ्चालन गरिने सो अभियानको तयारी बारे जानकारी गराउन स्वास्थ्य कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा सो जनाइएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले यसअघि केन्द्रबाट २८ हजार २५१ बालबालिकालाई खोप दिने लक्ष्य निर्धारण गरिएको भनी जानकारी आएपनि स्थानीय तहहरूले स्वास्थ्य संस्था तथा विद्यालयमार्फत सङ्कलन गरिएको लक्ष्य ३५ हजार ७०५ जना भेटिएकोले सोही बमोजिम खोप दिने बताउनुभयो । त्यसका लागि सबै तयारी पुरा भएको जनाउँदै उहाँले केन्द्रबाट ३० हजार ८०० लाई पुग्ने खोप जिल्लामा आइसकेको र ४ हजार ९०५ जनालाई पुग्ने खोप ल्याउने व्यवस्थापन भइरहेको बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले खोप अभियानका लागि जिल्लाका आठ वटै स्थानीय तहमा २४३ वटा खोप केन्द्र कायम गरिएको जनाउँदै विद्यालयका ३५ हजार २६९ जना र विद्यालय बाहिरका ४३६ जना बालबालिकालाई खोप दिने बताउनुभयो । उहाँले सो कार्यका लागि जिल्ला भरिमा ४८६ जना स्वयंसेवक पनि खटाइएको बताउनुभयो । खोप अभियान सफल पार्नका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरूका लागि गोष्ठी, स्थानीय तहको वडास्तरीय खोप समन्वय समितिका लागि गोष्ठी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरूका लागि आयोजना गरिएको गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनका मेडिकल अफिसर डा. प्रवीण पौडेल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाही र खोप फोकल पर्सन नरेश श्रेष्ठले खोपको आवश्यकता, तयारी र व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्जका मेयर प्रशान्त विष्ट लगायतले खोप अभियान सफल पार्न सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । 

सो कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख लगायत स्वास्थ्य संस्थाका प्रमुखहरूको पनि सहभागिता रहेको थियो । पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिइनेछ ।