• २ असार २०८१, आइतबार

सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण

blog

तस्बिर : रासस

काठमाडौँ, जेठ ९ गते । नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ । 

कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन सङ्घले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई हजार चस्मा हस्तान्तरण गरेको हो । आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्रा.डा.चेतराज पन्त र ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई ती चस्मा हस्तान्तरण गर्नुभएको हो ।  

सो अवसरमा सङ्घका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका आँखामा समस्या आउन नदिन चस्माले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकको नियमित आँखा परीक्षण गरिनुपर्ने र यसकार्यमा सङ्घलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीका लागि चस्मा हस्तान्तरण गरेकामा सङ्घ र ह्याल्पिङ ह्यान्डलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष  श्रेष्ठले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । 

उहाँले यस प्रकारका सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सङ्घका सचिव वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र, ह्याल्पिङ ह्यान्डका देशीय निर्देशक पशुराम दाहाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतको समेत उपस्थिति रहेको थियो । सङ्घका कार्यकारी निर्देशक डा.मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । 

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । रासस