• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा कैलाश सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको प्रष्ट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर: गोरखापत्र

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ ।

बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पार्नुभयो । उहाँले यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले कैलाश सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको भन्दै उपप्रधान एवम् गृहमन्त्री व्यक्तिगत रूपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । उहाँसँग केको रिसिइबी । गृहमन्त्री व्यक्तिगत रूपमा आउनुभयो भन्नेकुरा मान्छेले भन्नेकुरा मात्रै हो ।’’ प्रधानमन्त्रीले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताउनुभयो ।