• १२ असार २०८१, बुधबार

यारी भन्सार कार्यालयद्वारा दोब्बर राजस्व असुली

blog

राजन रावत

हुम्ला, जेठ ९ गते । नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारीनाका भन्सार कार्यालयले हालसम्म दोब्बर राजस्व असुली गरेको पाइएको छ । कार्यालयलाई विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गर्न कार्यालय सफल भएको हो ।

कार्यालय प्रमुख रामराज जैसीले आर्थिक वर्षको ११ महिना पुग्दा विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा दोब्बर बढी राजस्व असुल गर्न सफल भएको बताउनुभयो ।

उहाँले हालसम्म ११ लाख ५५ हजार ३९० रुपियाँ राजस्व असुली गर्न कार्यालय सफल भएको औंल्याउनुभयो । जब कि विभागले यस वर्ष पाँच लाख ३७ हजार रुपियाँ लक्ष्य दिएको थियो । उहाँले डेढ महिनाभन्दा बढी समय अझै बाँकी भएको कारण राजस्व असुली अझै वृद्धि हुने बताउनुभयो ।

यो बिचमा हिमपातका कारण पाँच महिना कार्यालय बन्द थियो । त्यतिबेला हिमपातका कारण चीनको ताक्लाकोटबाट सामान आउने कार्य बन्द भएको थियो ।

उहाँले कार्यालय पुनः सुचारु भएको बताउनुहुँदै राजस्व असुली समेत सुरु भएको बताउनुभयो । २०७९ साल वैशाख १८ गतेबाट कोरोनापछि चीनबाट सामान आयात सुरु भएको थियो । यसमा विशेष गरी सिमेन्ट, छड, सरिया, प्लाइउड आयात हुने गरेको छ भने लत्ताकपडा र दैनिक उपभोग्य सामग्री पनि आयात हुने गरेको उहाँले बताउनुभयो ।