अनिल पराजुली
हेटौँडा, जेठ ८ गते। हेटौँडामा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार हेटौँडा–२ र हेटौँडा–१२ मा पुरुष मृत अवस्थामा फेला परेका हुन।
हेटौँडा–२ स्थित मङ्गलवार मकवानपुर बहुमुखी क्याम्पस अगाडि एक घरमा सुतिरहेको स्थानमा एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत अवस्थामा फेला पारेका व्यक्ति मकवानपुरगढी गाउँपालिका वडा नं. ३ घर भएका ५२ वर्षीय इन्द्रप्रसाद खड्का रहेको मकवानपुर प्रहरीले जनाएको छ। उहाँ सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको र शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाइएको छ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार हेटौँडा–१२ बस्ने ४० वर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन्।
स्थानीय तिलकबहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको मुचुल्का पश्चात शव हेटौँडा अस्पतालमा पठाइएको छ। दुबै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं.५ मा लडेर एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ५७ वर्षीया लब कुमारी खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार आफ्नै घरमा बसिरहेकी खतिवडा जुरुक्क उठ्ने क्रममा लडेर घाइते हुनुभएको हो। उहाँको नोबल अस्पतालमा सामान्य उपचारपछि सीएमसी भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।