काठमाडौँ, जेठ ८ गते । प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
नेपाली कांग्रेससहितका विपक्ष दलहरूको बेल घेराउ र नाराबाजीका बिच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा पेस गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘‘सो प्रस्तावको पक्षमा बहुमत भएकाले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’’
कांग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।