• १२ साउन २०८१, शनिबार

पोखरा आइडिया मार्ट सुरु

blog

पोखरा समाचारदाता

पोखरा, जेठ ८ गते । व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आइतबारदेखि ‘पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प’ सुरु भएको छ ।

लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभा कक्षमा तीन दिनसम्म सञ्चालन हुने उक्त मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै युवाहरूले प्रस्तुत गर्ने हरेक आइडिया समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताउनुभयो । 

उहाँले यहाँ प्रस्तुत गरिएका आइडियालाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिँदै महानगरपालिकाले युवाको उद्यमशीलता अभिवृद्धिका लागि यस्ता कार्यक्रम उपलब्धिमूलक हुने बताउनुभयो । 

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमल्सिनाले मार्टमा प्राप्त सबै आइडियालाई छलफल गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सके त्यसले समाजमा विशिष्ट योगदान गर्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति एवं पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले मार्टमा सहभागिताका लागि आवेदन माग गरिएकोमा विभिन्न आइडियासहित ३५ वटा समूहले आवेदन प्रस्तुत गरेकोमा १९ वटा समूह छनोट भएको जानकारी दिनुभयो । १९ समूहमध्ये १७ वटा समूह मार्टमा सहभागी बनेको बताउँदै उहाँले तीमध्ये उत्कृष्ट १० छनोट गरिने बताउनुभयो । उत्कृष्ट १० लाई पुनः सरोकारवालाबिच राखेर छलफल गर्दै तीमध्येबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थलाई क्रमशः ५०, ४०, ३० र २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष नीरज केसी, मुख्य प्रशिक्षक नीरज खनाललगायतले मार्टमा प्राप्त आइडियालाई कार्यान्वयनको तहमा लैजानुपर्नेमा जोड दिनुभयोे ।