• १२ साउन २०८१, शनिबार

सडक ठेक्का रद्द गर्न माग

blog

बुटवल समाचारदाता

बुटवल, जेठ ८ गते । रुपन्देहीको बेलबासदेखि बेतहानीसम्मको करिब आठ किलोमिटर सडक निर्माणको काम बिचैमा अलपत्र पारेको भन्दै स्थानीयले ठेक्का रद्द गर्न माग गरेका छन् । 

बुटवलको बेलबासदेखि रुपन्देहीकै मायादेवी गाउँपालिकाको बेथरीसम्मको कुल २१ किलोमिटर सडक चार लेनमा विस्तारका लागि २०७३ साल असारमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । २०७६ साल असार मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने गरी वज्रगुरु कान्छाराम जेभीले ठेक्का लिएको थियो । 

चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोड रुपियाँमा ठेक्का भएको हो । जस अनुसार दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । उत्तरतर्फको बेलबासदेखि बेतहानी खण्डको आठ किलोमिटर सडक निर्माणको काममा भने निर्माण व्यवसायीले लापर्बाही गर्दा निर्माणको काम अझै हुन सकेको छैन । 

सडक निर्माणको काम नहुँदा उक्त खण्डमा दुर्घटनाको जोखिम बढेको र सवारीसाधन चलाउन कठिन भएको भन्दै स्थानीयले एक महिनाअघि सडक निर्माण छिटो गर्न दबाब दिने उद्देश्यले सङ्घर्ष समितिसमेत गठन गरेका थिए । 

बेतहानीदेखि बेलबास नहरपुरसम्मको सडकखण्डको निर्माणको काममा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै स्थानीयले ठेकेदारलाई कालो सूचीमा राखेर कारबाहीको मागसमेत गरेका छन् ।

सङ्घर्ष समितिका संयोजक विजय ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई हालै ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको छ । सङ्घर्ष समितिका संयोजक विजय ढकालले निर्माण व्यवसायीलाई पटक पटक सडक निर्माण छिटो गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेपछि स्थानीयले दबाब दिने उद्देश्यले सङ्घर्ष समिति नै गठन गरेको बताउनुभयो । 

उहाँले बेतहानीदेखि बेलबाससम्मको करिब आठ किलोमिटर सडक जीर्ण र खाल्टाखुल्टी भएकै कारण दुर्घटना बढेको र सवारीसाधन चल्दा धुलोका कारण जनजीवन नै प्रभावित भएको बताउनुभयो ।

निर्माण कम्पनीले विगत चार वर्षदेखि ठेक्का सम्झौता लगातार थप्ने काम मात्र गरेको भन्दै स्थानीयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर नयाँ निर्माण कम्पनीलाई कामको जिम्मा दिन माग गरेका हुन् । 

लुम्बिनी प्रदेश सडक विकास पूर्वाधार कार्यालयका प्रमुख लालु गिरीले सङ्घर्ष समितिका माग जायज भएको भन्दै माग सम्बोधन गर्न र समस्या समाधानमा आफूहरूले सक्दो पहल गर्ने बताएको सङ्घर्ष समितिका संयोजक ढकालले बताउनुभयो ।