• १२ साउन २०८१, शनिबार

दस महिनामा तेह्र खर्बको आयात

blog

काठमाडौँ, जेठ ८ गते । चालु आर्थिक वर्षको १० महिना पूरा हुँदासम्म अन्तर्राष्ट्रिय व्यापारमा घट्दो क्रमले निरन्तरता पाएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखसम्म आयात र निर्यात दुवै घटेको पाइएको हो । 

समीक्षा महिनासम्म नेपालले कुल १३ खर्ब तीन अर्ब ३५ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन २०८० वैशाखको तुलनामा २.३९ प्रतिशतले कम हो । त्यतिबेलासम्म नेपालले १३ खर्ब ३५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । 

आयातको तुलनामा निर्यातको घट्दो क्रम केही बढी छ । वैशाखसम्म नेपालले एक खर्ब २६ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ जुन गत वर्षको वैशाखको तुलनामा ३.६१ प्रतिशतले कम हो । अघिल्लो वैशाखसम्म नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको वस्तु निर्यात गरेको हो । 

आयात र निर्यात घट्दा मुलुकको समग्र अन्तर्राष्ट्रिय व्यापार पनि घटेको छ । वैशाखसम्म नेपालले कुल १४ खर्ब २९ अर्ब ५३ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्याङ्कले देखाउँछ । जबकि अघिल्लो वैशाखसम्म अन्तर्राष्ट्रिय व्यापारको आकार १४ खर्ब ६६ अर्ब २२ करोड रुपियाँ पुगेको थियो । व्यापार घट्दा घाटा पनि केही कम भएको देखिन्छ । वैशाखसम्म नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपियाँ पुगेको छ जबकि अघिल्लो वैशाखमा यस्तो घाटा १२ खर्ब रुपियाँ नाघेको थियो ।

वैशाखसम्म नेपालले सदा झैँ सबैभन्दा धेरै पेट्रोलियम पदार्थकै आयात गरेको देखिन्छ । उक्त महिनासम्म डिजेल मात्रै एक खर्ब १५ अर्ब ६७ करोड रुपियाँको आयात भएको छ । त्यसपछि ५६ अर्ब ८० करोड रुपियाँको पेट्रोल, ४६ अर्ब रुपियाँ बराबरको एलपी ग्यास, ३१ अर्ब रुपियाँको फलाम, २१ अर्ब २४ करोड रुपियाँको स्वास्थ्यसम्बन्धी सामग्री र २० अर्ब ७६ करोड रुपियाँको सुन आयात गरेको छ । 

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै आठ अर्ब ७९ करोड रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि छ अर्ब ९१ करोड रुपियाँको अलैँची, पाँच अर्ब ६२ करोड रुपियाँको छड, पाँँच अर्ब ६० करोड रुपियाँको पाम तेल र पाँच अर्ब ११ करोड रुपियाँको जुस निर्यात भएको छ । 

वैशाखसम्म नेपालले सबैभन्दा धेरै भारतबाट आठ खर्ब १५ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने भारततर्फ ८६ अर्ब दुई करोड रुपियाँको वस्तु निर्यात गरेको छ । त्यसपछि चीनबाट सबैभन्दा धेरै दुई खर्ब ४० अर्ब रुपियाँको आयात भएको छ । नेपालले चीनतर्फ भने दुई अर्ब २७ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।