• १४ मंसिर २०८१, शुक्रबार

कांग्रेसले समिति होइन, सरकार मागेको हो : बर्तौला

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ७ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले सो कुरा बताउनुभएको हो । 

कांग्रेसले संसदीय छानबिन समितिको नाममा सरकार मागिरहेको उहाँको टिप्पणी छ । गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो सम्भव नहुने बताउनुभयो । उहाँले काँग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको बताउनुभयो । व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो–‘यस्तो बदनियत राखेर अमुक व्यक्तिको नाममा अनुसन्धान गर्न अनुसन्धान अधिकारी कांग्रेसले नियुक्त गर्न पाउँदैन । कांग्रेसको यसप्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुँदैन । कांग्रेस संवादबाट अघि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडि जान तयार छौँ ।’ 

सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अघि बढाउन चाहेको चर्चा गर्नुहुँदै उहाँले बचतकर्ताको वचत सुरक्षाको सुनिश्चितता गर्न चाहेको बताउनुभयो । ‘ठगी र बदमासी गर्नेलाई कारबाही गर्न चाहन्छौँ ।

त्यो संसदीय छानबिन समितिले गर्नसक्छ, उहाँले भन्नुभयो, “तपाईंहरुलाई चाहिएको छ रवि लामिछाने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ ।’ उहाँले संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने बताउनुभयो ।