गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ७ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताउनुभएको छ । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसद्को विधिअनुसार विश्वासको मत लिँदासमेत काँग्रेसले अवरोध गरेको बताउनुभयो । गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारी समस्या समाधान गर्नतिर लाग्ने बताउनुभयो । उहाँले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताउनुभयो ।
उहाँले सरकारले सहकारी पीडितको न्यायका लागि द्रुतगतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने संवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था हो । एक महिनाभित्र विश्वासको मत लिने कुरा हो ।’
गिरीबन्धु जग्गाको विषय आफूले नबिर्सेको उहाँले बताउनुभयो । संसदमा बोलेको विषयमा आफू जिम्मेवार रहेको उहाँले चर्चा गर्नुभयो । ‘संसदीय समिति गठन गर, सहकारी ठगलाई कारबाही गर भनेर म पनि भन्छु । सरकारले सहकारी पीडितको न्यायका लागि द्रुतगतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभई सरकारले संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छौँ’ उहाँले भन्नुभयो । उहाँले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरूलाई कुनै आरोप लगाउने र धम्क्याउने काम नगरेको बताउनुभयो ।