• ११ मंसिर २०८१, मङ्गलबार

‘तातो हावा परियोजना’ सुरु

blog

परियोजना अन्तर्गत नेपालगन्जको धम्बोझी चोकमा निःशुल्क पानी वितरण गरिंँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ७ गते । ४२ डिग्रीभन्दा बढी तापक्रम पुगेर अत्यधिक गर्मीको सामना गरिरहेका बाँके र बर्दियामा विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन ‘तातो हावा परियोजना’ सुरु गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बर्दियाको गुलरिया नगरपालिकामा ४५ दिने ‘तातो हावा परियोजना’ सुरु गरिएको हो ।

कतार च्यारिटी नेपालले स्थानीय सरकार र गैर सरकारी सङ्घसंस्थाको समन्वयमा १७ मे २०२४ देखि सुरु भएको तातो हावा परियोजना १ जुलाई २०२४ सम्म लागू हुने कतार च्यारिटी नेपालले जनाएको छ । कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद शेखले यस पटकको अत्यधिक गर्मी र तातो हावा लुबाट अपाङ्गता, दलित, सीमान्तकृत, विपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्तिको परिवार, गर्भवती महिला र दूध चुसाउने आमाहरु बढी प्रभावित भएकोले उनीहरुलाई लक्षित गरी परियोजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्टार्ट फण्ड नेपालको सहयोगमा बाँके युनेस्को क्लबमार्फत सो परियोजना सञ्चालन गरिएको बताउनुभयो । 

अत्यधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगिन सामाजिक सचेतना जगाउन परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले परियोजना सञ्चालन क्षेत्रका विद्यालय र घरधुरी छनाेट गरेर गर्मी र तातो हावाको असर बाट विपन्नहरुलाई जोगाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो । 

सो ‘तातो हावा परियोजना’ मार्फत बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान तथा समुदाय स्तरमा अति विपन्न र जोखिममा रहेका परिवारलाई खाद्यान्न सहयोग, छाता, गम्छा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि सञ्चालन गरिने कतार च्यारिटी नेपालले जनाएको छ । 

नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने ठाउँ भएकोले यस पटक पहिलो चोटि कुनै अन्तर्राष्ट्रिय संस्थाले गर्मी र तातो हावाको असरबाट सर्वसाधारणलाई जोगाउन यहाँ कार्यक्रम सञ्चालन गरिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अत्यधिक गर्मीबाट विशेषगरी विपन्न, एकल महिला र अपाङ्गता भएकाहरु बढी प्रभावित हुने गरेको पनि बताउनुभयो ।