• १२ साउन २०८१, शनिबार

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

विपन्न, असहायलाई वरदान साबित

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ ७ गते । मधेश प्रदेशमा एउटा मात्र प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा सञ्चालित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य जाँच गराउने मानिसको आकर्षण पनि बढ्दै गएको छ । 

अत्याधुनिक मेसिनद्वारा सस्तो दरमा जाँच गरिरहेकै कारण मानिसको आकर्षण बढ्दै गएको हो । जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग, सङ्व्रmामक रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाई तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रूपमा निदान सेवा, रोगको सर्भेइलेन्स, अनुसन्धानलगायतका कार्य गर्दै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. श्रवणकुमार मिश्रले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘प्रयोगशालामा आधुनिक प्रविधिको उपयोग गरी रोगको निदान, उपचारको प्रभावकारिता र स्वास्थ्य प्रवर्धनका सम्पूर्ण सूचाङ्कको विश्लेषणसमेत गरिँदै आएको छ ।” प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले हालसम्म तीन लाख ६७ हजार ३३१ जनाको परीक्षण गरिएको विभागका प्रमुख वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द साहले बताउनुभयो । 

कुन कुन जाँच हुन्छ ?

प्रयोगशाला सेवालाई गुणस्तरीय परिणाम दिलाउन विभिन्न विधाका विभागमा विज्ञलाई नियुक्त गरिएको छ । प्याथोलोजिस्ट, बायोकेमिस्ट, हेमाटोलोजिस्ट, भाइरोलोजिस्ट, माइव्रmोबायोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्ट विभाग छुट्याइएको छ । यहाँ नयाँ र आधुनिक प्रविधिबाट प्रयोगशाला जाँचले विश्वास जितेको छ । विभिन्न ११ किसिमको प्रयोगशाला परीक्षण अन्तर्गत हेमाटोलोजीका २२, बायोकेमेस्ट्री ५१, पारासाइटोलोजी छ, इम्मुयोनाअसे छ, इन्डोव्रिmनोलोजी २४, मोलुकुलर चार, भाइरोलोजी ३५, इम्योलोजी/सरोलोजी २५, युरिनमाइक्रोस्कोपी १८ र हिस्टोप्याथोलोजी/साइटोलोजीका १७ वटा परीक्षण भइरहेको जनाइएको छ ।

जाँचमा विशेष छुट

प्रयोगशाला जाँच शुल्कमा नागरिक र कर्मचारीलाई विशेष छुटको व्यवस्था पनि गरिएको छ । ज्येष्ठ नागरिक, विपन्न, डायलासिस गराइरहेका मिर्गौलाका बिरामी, एचआइभी सङ्व्रmमित, सहिद परिवार, क्यान्सर रोगीलाई ९० प्रतिशत जाँच शुल्कमा छुट दिने गरेको निर्देशक मिश्रले बताउनुभयो । यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई ५० प्रतिशत छुट दिने गरिएको उहाँले बताउनुभयो ।  

तीन करोड ६५ लाख सङ्कलन

२०७६ साल कात्तिकमा स्थापना गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुरुका केही महिना व्यवस्थापनमै लागेको थियो । २०८१ साल वैशाखको अन्तिम सातासम्म प्रयोगशालाले प्रयोगशाला सेवासँगै जाँच शुल्कबाट तीन करोड ६५ लाख ७२ हजार ४०७ रुपियाँ सङ्कलन गरेको छ । 

यस प्रयोगशालामा धेरै जना आफैँ प्रयोगशाला जाँच गराउन आउने गरेका छन् भने सरकारी अस्पतालका चिकित्सकसँग स्वास्थ्य जाँच गराउन जाँदा प्रयोगशाला जाँच लेखेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा नै आउने गरेको माइक्रोबायोलोजिस्ट उमेश साहले बताउनुभयो । यहाँको सेवा गुणस्तरीय, विश्वसनीय र सस्तो रहेका कारण गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकलगायतलाई वरदान साबित भएको छ ।